• १३ मंसिर २०८१, बिहिबार

प्राङ्गारिक मल उत्पादनमा खड्का

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन ९ गते । वैदेशिक रोजगारमा १६ वर्ष काम गरेर नेपाल फर्किनुभएका मोरङको उर्लाबारी–९, बाँसबारीका राजीव खड्काले प्राङ्गारिक मल उद्योग सञ्चालनमा ल्याउनुभएको छ । 

सन् २०१९ मा नेपाल फर्किनुभएका खड्काले सुरुमा आमा कृषि फार्म दर्ता गरेर गाई र बाख्रापालन गर्न थाल्नुभएको थियो । दुबई, कतार र कुवेतमा गरी १६ वर्ष बस्नुभएका खड्काले श्रीमती र छोराछोरी पनि उतै लगिसक्नुभएको थियो । मासिक छ लाख ५० हजार रुपियाँ कमाएका खड्कालाई नेपाल फर्केर कृषि उद्यम गर्ने भोक जाग्यो र उहाँ परिवारसहित घर फर्किनुभयो । 

दुबईबाट हेल्थ सेफ्टी एन्ड इन्भारोमेन्ट (एचएसई) गर्नुभएका खड्कालाई नेपाल आएपछि नेपाली कम्पनीहरूले जागिर खान बोलाए । ठुलो जागिर छोडेर कृषि क्रान्तिको सपना बोकेर स्वदेश फर्किनुभएका खड्काको मन जागिरभन्दा  गाई बाख्रातिर तानियो । कमाएर ल्याएको गोठ निर्माण र गाई बाख्रा खरिदमा लगानी गर्नुभयो । 

अहिले ५६ वटा बोयर जातका बाख्रा र पाँच वटा गाईसहित १६ वटा बाच्छाबाच्छी खड्काको फार्ममा रहेका छन् । घाटा नभए पनि कमाई नभएको खड्काले बताउनुभयो । बाख्रा र गाईपालनबाट आम्दानी हुन नसकेपछि गाईको गोबर र बाख्राको जुतो प्रयोग गरेर प्राङ्गारिक मल उद्योग सुरु गरेको उहाँले बताउनुभयो । 

सात महिनाअघि सुरु भएको मल उद्योगमा उहाँले ८५ लाख रुपियाँ खर्च गरिसक्नुभएको छ । कोशी प्रदेशको कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र मोरङले ५० लाख अनुदान 

दिएको छ भने खड्काले आफैँ ३५ लाख रुपियाँ लगानी गर्नुभएको छ । प्राङ्गारिक मलले सन्तोषजनक परिणाम दिएको छ । खड्का अनुसार अहिलेसम्म १८ टन मल बजारमा गइसकेको छ । प्रतिकिलो ३८ रुपियाँमा बिक्री भइरहेको छ । एक करोड लगानी गर्न सके प्रतिकेजी ३० रुपियाँसम्ममा बिक्री गर्न सकिने खड्काले बताउनुभयो । 

उर्लाबारी नगरपालिकाले २५ टन मल खरिद गरिदिने सम्झौता गरिसकेको छ भने कृषि मन्त्रालय कोशी प्रदेश, मधेश प्रदेशबाट पनि प्रस्ताव आएका छन् । यो मलमा नाइट्रोजन २, पोटास २.७८, फस्फोरस ३, अर्गानिक कार्बन २१ प्रतिशत र पिएच लेबल ७.०७ रहेको प्रमाणित भएको छ । गोबर र जुतोमा अरू १२ तìवको मिश्रणबाट यो दानादार मल बनाइन्छ ।