• २४ पुस २०८१, बुधबार

रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा

blog

रासायनिक मल । फाइल तस्बिर

चौतारा, फागुन ८ गते । चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो ।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरु सामान लोड-अनलोड गर्न कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउनुहुन्छ ।  खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ । 

रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उहाँले जानकारी दिनुभयो । भूकम्प र कोरोनापछि खुलेको तातोपानी नाकामा पाँच वर्षदेखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनी अन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो । सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ । ठेक्का आर्थिक वर्ष ०७९/८० मा सम्झौता भएको थियो । 

सम्झौताअनुसार सिल्क मार्केटले रासायनिक मल समयमै ल्याउन सकेन । गतवर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताउनुहुन्छ । कृषि सामग्री कम्पनी लिमिटेडसँग कुराकानी गरिरहेको र प्रक्रिया पूरा भएपछि मल काठमाडौँ लगिने शेर्पा बताउनुहुन्छ । मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाउने किसान भने समस्यामा परेका छन् । रासस