• १९ असार २०८१, बुधबार

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गोरखा पत्रकार समाज नेपालको नवनिर्वाचित कार्यसमिति तथा सल्लाहकारको परिचयात्मक तथा शुभकामना कार्यक्रमपछि सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, फागुन ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञाशामा उहाँले भन्नुभयो, “त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।’’

पत्रकारिता जगतले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गर्नुभयो ।

आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उहाँले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताउनुभयो । “लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ”, उहाँले भन्नुभयो ।

सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमनत्री प्रचण्डले सरकारले थालनी गरेको अभियानमा सञ्चार जगतबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । भेटमा गोरखा घर भई राजधानीमा क्रियाशील पत्रकारले जिल्लाको विकास निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो । रासस