रामेछाप समाचारदाता
रामेछाप, फागुन ८ गते । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१, राकाथुमको कोथपे र सिन्धुलीको सुनकोशी गाउँपालिका–२, मझुवा जोड्ने झोलुङ्गे पुल निर्माण सुस्त गतिले अघि बढेको छ । तीन वर्षअघि सुरु भएको पुल निर्माण कार्यको उपलब्धि ३५ प्रतिशत रहेको छ ।
सङ्घीय सरकारको सात करोड ३५ लाख रुपियाँ लागतमा निर्माण थालिएको सो पुलको लम्बाइ ४६५ मिटर रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा निर्माण सुरु भएको सो पुल कोभिड–१९ का कारण काम रोकिएको थियो । आव २०७८/७९ को सुरुवातीबाट पुनः निर्माण सुरु गरिए पनि रामेछापतर्फको पिल्लर कोल्टिएपछि काम रोकिएको स्थानीयको भनाइ छ ।
निर्माणाधीन उक्त पुलको डिजाइन प्रोसेस र निर्माण चरणमा प्राविधिक समस्या आएपछि निर्माण कार्यमा ढिलाइ भएको खाँडादेवी गाउँपालिका–१ का पूर्व वडाध्यक्ष विष्णुकुमार
श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘पुलको डिजाइन प्रोसेस र निर्माणको चरणमा प्राविधिक समस्या आएपछि निर्माणमा ढिलाइ भएको हो । अहिले झोलुङ्गे पुल निर्माण कार्य अघि बढेको छ, छिटै निर्माण सम्पन्न हुने जनाइएको छ ।
पुल निर्माण भएपछि कोथपेका माझी समुदायका लागि काठको परम्परागत डुङ्गा, ¥याफ्टिङ र गाडीको ट्युबबाट वारपार गर्नुपर्ने जोखिमको अन्त्य हुने स्थानीय बताउँछन् । खाँडादेवी गाउँपालिकाभित्रको पर्यटकीय पूर्वाधार विकासका रूपमा उक्त पुल निर्माणलाई हेरिएको छ । कोथपेका माझी समुदायको खेती सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–२ मा रहेको छ । सो खेतीमा आउजाउ गर्नसमेत कोथपेका माझी समुदायलाई सहयोग पुग्ने बताइन्छ । अहिलेसम्म ३५–४० प्रतिशत काम सकिएकाले आगामी असोजसम्म काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको पूर्व वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।