काठमाडौं, फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने बताउनुभएको छ । साथै उहाँले राज्यशक्तिको दुरुपयोग गरेर केही समय राजनैतिक बिचार निषेध गरे पनि सधैँ निषेधित र समाप्त नहुने जिकिर गर्नुभयो ।
सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित “त्रिभुवन जयन्ती, प्रजातन्त्र दिवस तथा पार्टीको बार्षिकोत्सव“को अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष थापाले सङ्घीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरण भएको समेत टिप्पणी गर्नुभयो ।
देशमा बामपन्थी बिचारको बर्चस्व र हाबी भएको भन्दै विश्वभर असफल भएको व्यवस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै अध्यक्ष थापाले जनताको अभिमत बिना गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता लादिएको भन्दै आलोचना गर्नुभयो ।
अर्बौं खर्च गरेर योजनाबद्ध रुपमा नेपाली धर्म संस्कृती नष्ट गरेकोमा आपत्ति प्रकट गर्नुहुँदै उहाँले बिकृत मान्यता र दर्शन बोकेर देश विकास हुन नसक्ने बताउनुभयो । देश वैचारिक र संरचनागत त्रुटिको दलदलमा भासिएको भन्नुहुँदै उहाँले कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गर्न नसकेको भनाइ उहाँको छ ।
२०८४ को चुनाव अगावै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष थापाले बिचार मिल्नेहरु सबैले मोर्चा निर्माण गरी अगाडि बढ्नु पर्ने आवश्यकता समेत औंल्याउनुभयो । बैकल्पिक बिचार र शक्ति निर्माण गर्न राप्रपा नेपाल बलियो हुनुपर्ने तर्क गर्दै थापाले सम्पूर्ण नेता कार्यकर्ताहरुलाई सङ्गठन केन्द्रित हुनु आग्रह गर्नुभयो । कार्यक्रममा नेताहरु बिष्णु भट्टराई, राजाराम बर्तौला, माधब खत्री,हिक्मतजङ्ग भण्डारी सुनिता कुरुङ्वाङ, श्याम घिमिरे लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।