रजनी योगी
सुर्खेत, फागुन ७ गते । वीरेन्द्रनगरमा डिजिटल अधिकारको संरक्षणसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले डिजिटल अधिकारको संरक्षण गर्न आवश्यक रहेको सुझाव दिनुभएको छ ।
बढ्दो इन्टनरनेट प्रयोग सन्दर्भमा डिजिटल अधिकार र डिजिटल सुरक्षाका विविध आयामको बारेमा जानकारी दिने तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा डिजिटल अधिकारका आधारभूत विषयहरू, अनलाइन अभिव्यक्ति स्वतन्त्रता, अनलाइन गोपनीयता, डिजिटल समावेशीकरण र कनेक्टिभिटी, डेटाको गोपनीयता र संरक्षण, डिजिटल सुरक्षा, इन्टरनेट गभर्नेन्स र गलत, भ्रामक सूचना र घृणायुक्त अभिव्यक्ति जस्ता विषयहरूमा छलफल भएको थियो ।
सुर्खेतमा क्रियाशील पत्रकारका लागि कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले बताउनुभयो । डिजिटल राइट्स नेपालको आयोजनामा कार्यक्रम गरिएको हो ।
डिजिटल राइट्स स्कुलका संयोजक टङ्कराज अर्यालले बढ्दो सूचना प्रविधिको विकासले थप चुनौती थपिरहेको बताउनुभयो । उहाँले प्रत्येक नागरिकलाई डिजिटल अधिकार र डिजिटल सुरक्षाको बारेमा जानकारी दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।
नजानिँदो तरिकाले झुक्क्याउने, पैसा ठगी गर्ने, ब्ल्याकमेल गर्नेजस्ता घटनाबाट कोही पनि अछुतो रहन नसकेको भन्दै उहाँले यस्ता तालिम अन्तरक्रिया प्रत्येक विद्यालय, समुदायमा पुगाउन आवश्यक रहेको बताउनुभयो ।
टङ्कराज अर्यालले डिजिटल अधिकार तथा सुरक्षाका विभिन्न पक्षहरूमा आफ्नो प्रस्तुति समेत राख्नुभएको थियो । डिजिटल अधिकार र डिजिटल सुरक्षाको बारेमा जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पत्रकार महासङ्घ कर्णाली प्रदेशले जनाएको छ ।