• १३ साउन २०८१, आइतबार

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ

blog

पाठेघरको मुखको क्यान्सर जाँच गराउनका लागि लाइन बसेका महिला । तस्बिर सौजन्य : धनगढी उपमहानगरपालिका

अविनाश चौधरी
धनगढी, फागुन ७ गते ।
 कैलालीको फूलबारीमा महिलाको पाठेघरको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ गरिएको छ । फूलबारी स्वास्थ्य चौकीमा हेल्थ क्याम्प आयोजना गरेर क्यान्सर स्क्रिनिङ गरिएको हो । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा नेपालगन्जको समन्वयमा धनगढी उपमहानगरपालिकाले क्याम्पको आयोजना गरेको थियो ।

क्याम्पमा १४ जना महिलाको पाठेघरको भिआइए (भिजुअल इन्पेक्सन विथ असेटिक एसिड) जाँच रिपोर्ट पोजेटिभ आएको छ । १३८ जना महिलाले भिआइए जाँच गराएका थिए ।

यसैगरी, क्याम्पमा दुई जनामा क्यान्सरको पूर्ण आशङ्का गरिएको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । यस्तै, तीन जना बिरामीले फ्लोअप सेवा लिएका छन् । सो क्याम्पमा २८३ जनाले सेवा लिएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिनुभयो ।

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि भिआइए जाँच गरिन्छ । पोजेटिभ आएकाहरूलाई क्यान्सर भइसकेको वा नभएको पत्ता लगाउन एचपिभी डिएनए जाँच गर्ने गरेको जनाइएको छ । नेपालमा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको २०२० मा गरिएको एक अध्ययनले देखाएको छ ।

पुरुषका कारण महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको बताइएको छ । यसबाट जोगिनका लागि यौनकार्य पूर्व दुई देखि १४ वर्षमुनिका किशोरीलाई एचपिभी (ह्युमन पपिलोमा भाइरस) खोप दिने गरिन्छ छ भने ३० देखि ४९ वर्षसम्मका महिलाको स्क्रिनिङ गर्ने गरिन्छ ।