• ११ मंसिर २०८१, मङ्गलबार

पाँच पत्रको इतिहास

blog

पुस्तकालय ज्ञानको भण्डार हो । यसलाई ज्ञान विज्ञानको सङ्ग्रहालय र प्रसारको माध्यम पनि भनिन्छ । यसले अभिलेख र ऐतिहासिक ग्रन्थहरूको सुरक्षा गरी कला र संस्कृतिको जगेर्ना गर्ने काम गर्छ । विश्वमा पुस्तकालयको स्थापना र विकासको इतिहास माटाको खबटे सङ्ग्रहबाट प्रारम्भ भई आधुनिक विद्युतीय पुस्तकालयसम्म आइपुगेको हो । नेपालमा भने माटाका खबटे सङ्ग्रह ज्यादै कम प्राप्त भएको छ । नेपालमा लिखित इतिहास शिलापत्रबाट मात्रै सुरु भएको अनुमान धेरैले गरेका छन् । अभिलेख संरक्षण ऐनको व्याख्याले पनि यस अनुमानलाई मलजल गरेको छ ।

नेपालमा पुस्तकालयको इतिहास लामो छैन तर यो आफैँमा विशिष्ट भने छ । नेपालको इतिहासमा स्वर्णयुग भनिने लिच्छविकालदेखि पुस्तकालयका प्रारम्भिक सङ्केतहरू देखा पर्छन् । नेपालको भौगोलिक एकीकरणपश्चात् शाह राजाहरूले पुस्तक सङ्ग्रह गर्ने काम प्रारम्भ गरेका थिए । यो क्रम राणाकालमा पनि सुस्त गतिमा अगाडि बढ्दै आएको थियो । राणाशासनमा सार्वजनिक पुस्तकालय स्थापना गर्ने कार्यलाई निरुत्साहित गर्दै यस्ता अभियन्ताहरूलाई जेल र आर्थिक दण्ड गरिएको विगत छ । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछिको खुला वातावरणमा देशका सहर, गाउँ जताततै शैक्षिक जागरण र चेतना वृद्धिका लागि व्यक्तिगत, सरकारी, राष्ट्रिय, शैक्षणिक, बाल, सार्वजनिक, विशेष, घुम्ती आदि पुस्तकालयहरू स्थापना भए । अझ कतिपय स्थानमा वाचनालय नाममा पढ्ने स्थानको वृद्धि भयो । यस्ता स्थान पछिल्ला राजनीतिक सङ्कटका समयमा लुक्ने र गोप्य राजनीतिक गतिविधि बढाउन सहयोगी साबित भए । लिच्छविकालदेखि प्राप्त नेपालका पुस्तकालय सङ्कलनमा कागजी सामग्री मात्रै छैनन् । यस्ता सङ्कलनमा ताडपत्र, भोजपत्र, स्वर्णपत्र, शिलापत्र र ताम्रपत्र पनि छन् । 

रेखाचित्र र लेखन अभिलेखीकरणका लागि लगभग दुई हजार वर्ष पहिले चीनमा पहिलो पटक कागज उत्पादन गरिएको थियो । आठौँ शताब्दीमा कागज बनाउने चिनियाँ प्रविधि मध्य एसियाभर फैलियो । त्यसपछि इजिप्ट र मोरोक्को हुँदै युरोपसम्म पुग्यो । युरोपेली मुलुक स्पेनमा सर्वप्रथम कागज निर्माण गर्ने कारखाना खोलियो । कागजी मुद्रा पहिलो पटक ताङ राजवंश चीनमा सातौँ शताब्दीमा विकसित भएको थियो, जहाँ यसलाई ‘उड्ने पैसा’ भनिन्थ्यो । 

रुखका बोक्रा आदि सामग्रीमा आधारित लेखन पाना इजिप्टमा विकसित प्यापिरस थियो । पहिलो वास्तविक कागज बनाउने प्रक्रिया चिनियाँ अदालतका अधिकारी काई लुनले गरेका थिए । प्यापिरस सम्भवतः पहिलो लेखन सामग्री थियो, जसलाई हामी अहिले कागजको रूपमा जान्दछौँ । यसलाई मिश्रका मानिसले इसापूर्व ३००० मा प्रयोगमा ल्याएका थिए । मानव सभ्यताका क्रममा हामीले प्रयोग गरिरहेको मोबाइल र कम्प्युटर पछिल्ला आविष्कार हुन् । अझ पत्रिका, पुस्तक र यी सबैलाई आकार दिने मसी डिजिटल सामग्रीभन्दा केही अघि मात्र बनेका हुन् । मसी बनिसक्दा पनि कागजको प्रयोग भएको थिएन । कागजको आविष्कार चिनियाँ हान वंशका शासनकाल सन् १०५ मा मात्रै भयो ।

अभिलेख संरक्षण ऐन, २०४६ ले ताडपत्र, भोजपत्र, स्वर्णपत्र, शिलापत्र र ताम्रपत्रमा उपलब्ध प्रतिलिपि वा तस्बिरलाई समेत कागजात मानेको छ । यिनै पाँच प्रकारका लेख्य सामग्रीको नेपालमा कसरी ऐतिहासिक प्रयोग भयो चर्चा गरिने छ । यिनै पाँच पत्रको सहायताले नेपालमा पुस्तकालयको प्रारम्भिक जग बसालिएको हो । 

ताडपत्र 

ताड रुखका लामा लामा पात सुकाएर ताडपत्र तयार पारिन्छ । ताडपत्रमा अक्षर लेखिससकेपछि लामो समय रङ नउडोस् भन्नका लागि छायामा सुकाइन्थ्यो । कागजको अविष्कार हुनुभन्दा पहिले ताडपत्रमा ग्रन्थ चित्रहरू कोर्ने चलन थियो । ताडपत्र ताडका पात सुकाएर त्यसमा लेख्न हुने गरी तयार पारिन्थ्यो । ताडपत्रको प्रयोग ग्रन्थ रचनामा बढी भएको पाइन्छ । कागजको सहज उपलब्धता अघि तमसुक, सरकारी कागजात, सनद, पर्चा, लालमोहर, खड्ग निशाना, सवाल, एक छापे, दुई छापे, रुक्का, इस्तिहार, चिठीपत्र र सन्धि सम्झौता ताडपत्रमै तयार गरिन्थे । प्राचीन नेपाल पुस्तकमा शङ्करमान राजवंशी प्राचीन तमसुक ताडपत्र शीर्षकको लेखमा लेख्नु हुन्छ, “भक्तपुरका राजा जयजिता मल्लले यंछेटोलका काशीराम प्रमुखका गुठीलाई घरबारी निगाह गरिदिएको विवरण उल्लेख छ । उक्त ताडपत्र नेपाल संवत् ७९४ मा जारी भएको देखिन्छ भने माटोको सहीछाप लागेको उल्लेख गरिएको छ ।” 

बाँसको मसीले लेखिने ताडपत्र छायामा सुकाइने कारण लामो समय सुरक्षित रहने विश्वास गरिन्थ्यो । नेपालमा मल्ल शासनकाल र नेपाल संवत् प्रचलित समयमा ताडपत्रको निर्माण प्रशस्त भएको देखिन्छ । ताडपत्रमा किरा नलागोस् भनेर हरिताल (विष) दलेर राख्ने परम्परा रहेको थियो । ताडपत्र खान आउने किरा विषको लेपन खाएर मर्थे भने लिखित सामग्री सुरक्षित रहन्थ्यो । काठमाडौँको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयमा रहेको सबैभन्दा पुरानो ग्रन्थ आठौँ शताब्दीको स्कन्द पुराण हो । यो पुराण २२९ वटा ताडपत्रमा लेखिएको छ । हालसम्म प्राप्त सामग्रीलाई आधार बनाउदा ताडपत्र प्राचीन लेख्य सामग्री हो । 

भोजपत्र

भोज मध्यम आकारको पतझर रुख हो । यसको बोक्रा चिल्लो र चम्किलो देखिन्छ । सेतो वा गुलाबी सेतो रङमा बाहिरी बोक्रा पातलो कागजी तह जसरी उक्किएको हुन्छ । नेपालमा प्राकृतिक रूपमा पाइने यो रुख पहिले सगरमाथा राष्ट्रिय निकुञ्जमा रोपिएको थियो । यस रुखको बोक्रा पौराणिककालदेखि नै पाण्डुलिपि लेखनका लागि प्रयोग गरिन्थ्यो । भोजपत्रका बोक्रालाई लामो किताबका पाना जस्तो रूपमा निकालेर सुकाइ तिनमा चित्रहरू कोरिन्थ्यो । कागजको आविष्कार हुनुभन्दा पहिले ताडपत्र र भोजपत्रका पाना तयार पारी ग्रन्थचित्रहरू कोरिन्थ्यो । भोजपत्रको प्रयोग चित्र बनाउन बढी प्रयोग भएको पाइन्छ । चित्र बनाउन प्राकृतिक रङको प्रयोग गरिन्थ्यो ।

स्वर्णपत्र

अक्षर लेख्न सुनको उपलब्धता आजका लागि नौलो मानिएला तर नेपालका कतिपय पुराना सामग्री सुनका अक्षरले लेखेर राखेको अभिलेखमा पाइन्छ । ललितपुरको हिरण्यवर्ण महाविहारमा दैनिक रूपमा वाचन गरिने बौद्ध धर्म ग्रन्थ प्रज्ञापारमिता स्वर्ण अक्षरले लेखिएको छ । यस्ता ग्रन्थ प्राचीन नेपाल सरहदमा धेरै प्रयोगमा थिए । स्वर्णपत्र तयार गर्दा कपडा वा कुनै समथर वस्तुमा सुनले अक्षर लेख्ने गरिन्थ्यो । सुनमा लेखिएका यस्ता सामग्रीलाई कनकपत्र नामले समेत सम्बोधन गरिन्छ ।

शिलापत्र 

नेपाली भाषाको पहिलो शिलालेख कीर्तिखम्ब दैलेख जिल्लाको दुल्लु नगरपालिका–७ मा रहेको विश्वास गरिन्छ । यो शिलालेख तत्कालीन राजा दामुपालले विसं १०३७ मा लेखाएका थिए । यस्ता शिलालेखले प्राचीन नेपालका विभिन्न राज्य र समुदायमा समेत लेखिन्थे । भक्तपुर राज्यमा पाइएका धेरै शिलालेखको अध्ययन र व्याख्या योगेशराज र पुरुषोत्तम लोचन श्रेष्ठले बाहिर ल्याएका छन् । 

ताम्रपत्र 

नेपालमा तामाखानीको सम्भाव्यता प्रचुर मात्रामा छ । कतिपय स्थानमा तामाखानी पत्ता लागेका र उत्खनन भएका विवरण छन् । गोरखा, सोलुखुम्बु, म्याग्दीलगायत जिल्लामा तामाखानी रहेको सम्भाव्यता अध्ययन प्रतिवेदनले औँल्याएका छन् । सम्भावना भएका स्थानमा प्राचीन समयमा तामा उत्खनन भएका हुन सक्ने सम्भावना बढी देखिन्छ । नेपालका विभिन्न स्थानमा पाइएका लिखित सामग्री ताम्रपत्रमा भेटिएका छन् । आयोजना उद्घाटन वा शिलान्यास गर्दा ताम्रपत्र प्रयोग गरिने चलन अझै पनि नेपालमा यथावत् छ । प्राचीन समयमा भने कागज र मसीको उपलब्धता नहुनाले ताम्रपत्रमा विवरण तयार गर्ने गरिन्थ्यो । जुम्ला राज्यको सिंजाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा पहिलो नेपाली भाषाको विकसित रूप फेला परेकाले यसलाई नेपाली भाषाको उद्गमस्थलको रूपमा मानिएको हो । तत्कालीन समयमा ढुङ्गा वा तामा जेसुकै पनि लेखनका लागि प्रयोग भएको प्रमाण यही हो ।

विवरण राख्नका लागि जस्तोसुकै सामग्रीको प्रयोग गरिए पनि ती सबै लिखित सामग्री थिए । यिनै लिखित सामग्रीले हामीलाई विगतको इतिहास भनिरहेका छन् । कतिपय भाषामा पकड नहुनु र सामग्रीमा क्षति हुनुले गर्दा यस्ता सामग्री अध्ययनको सीमितता भने अद्यापि छँदै छ । यसरी तयार भएका कतिपय सामग्री पुस्तकालय वा सङ्ग्रहालयमा आइपुगेका छन् भने कतिपय सामग्री निजी सङ्ग्रहमा रहेका हुन सक्छन् । उपलब्ध सामग्रीलाई सार्वजनिक पहुँचमा पु¥याउने र संरक्षणको जिम्मा लगाउनु आजको आवश्यकता हो ।    

Author

रमेश निरौला