• ५ जेठ २०८१, शनिबार

पर्यटकीय गन्तव्य बन्दै झरना खोला

blog

हुप्सेकोट –४ मा अवस्थित झरना खोला । तस्बिरः मीना कंडेल

मीना कंडेल

कावासोती, फागुन ४ गते । पूर्वी नवलपरासीमा रहेका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्राय सुनसानजस्तो रहने पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

हुप्सेकोट –४ मा अवस्थित झरना खोला आन्तरिक तथा बाह्य पर्यटककोे रोजाइ बनेसँगै पछिल्लो समय यहाँ आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । नवलपुरको सदरमुकाम कावासोतीबाट उत्तर ८ किलोमिटरको दूरिमा हुप्सेकोटको झरना खोला गाउँ रहेको छ । 

शँखदेव र दक्षिण पश्चिममा पुरानो झाँते भन्ने गाउँमा भरना खोला रहेको छ ।  हुप्सेकोट –४ का वडाध्यक्ष महेन्द्र पाण्डेले भन्नुभयो, “प्राकृतिक मनोरम वातावरण, अर्गानिक खाना, कौरा नाच, भेषभूषा सबैमा स्थानीयको मौलिकता पाउन सकिन्छ । त्यसैले पनि आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ ।” 

भरना खोलाको मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकका लागि होमस्टेमा महिला दिदीबहिनीले आफ्नै कला संस्कृति झल्कने नृत्य देखाउनुका साथै स्थानीय परिकार खुवाउने गरेका छन् । झरना खोला नजिक मौलिक संस्कृति झल्कने घुमाउने घर समेत निर्माण गरिएको छ । 

जसले झरना खोलाको मुख्य आकर्षणको रुपमा समेत रहेको छ । पर्यटकको आवागमनमा वृद्धि भएसँगै त्यहाँ रहेका चार होमस्टेको व्यवसायमा समेत राम्रो आम्दानी हुन थालेको स्थानीयको भनाइ छ । 

जिल्लालाई पर्यटन व्यवसायमा प्रबद्र्धन गर्न केहि दिनअघि सञ्चालन भएको झरना खोला महोत्सवले पनि महत्वपूर्ण भुमिका राखेको समिर क्षेत्रीले बताउनुभयो । जिल्लाका पर्यटकीय क्षेत्रमा सबैजसो आन्तरिक पर्यटककै उपस्थिति हुनेगरेको छ ।

हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले नवलपुर जिल्लाको ग्रामीण भेग झरना खोलालगायतका गण्डकी प्रदेशभित्र रहेका विभिन्न पर्यटकीय स्थल, विभिन्न जातजातिको संस्कार, संस्कृति संरक्षणका लागि प्रदेश सरकार सदैव लागि पर्नुपर्ने बताउनुभयो । उहाँले झरना खोला पर्यटकीय गन्तव्यको रूपमा परिचित हुँदै गएको बताउनुभयो ।

पहाडी भेगमा रहेको झरना खोला पर्यटकीय सम्भावना बोकेको स्थल हो । झरना खोला सामुदायिक होमस्टेका अध्यक्ष सागर गाहा मगरले रमणीय र पर्यटकीय गन्तव्यको रूपमा विकास भएको झरनाको प्रचार–प्रसार हुँदै गएपछि यहाँ गर्मीको समयमा दैनिक तीनदेखि पाँच सयसम्म आन्तरिक पर्यटकहरु आउनेगरेको बताउनुभयो । 

स्याङजा क्यानोनिङ तथा पर्यटन प्रबर्धन संस्थाद्वारा झरना खोलामा डमो परीक्षण समेत गरिएको छ । पर्यटकीय क्षेत्रको रुपमा उजागर गर्न प्राविधिक टोलीले परीक्षण गरेको छ ।

जिल्लामा यथावत् रहेका हुप्सेकोटको झरना खोला, ऐतिहासिक कावासोती ताल टरुवा, बाघखोर होमस्टे, पिप्रहर होमस्टे, बिभिन्न मठ मन्दिर, चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारीलगायत क्षेत्रका पर्यटकीय गहना हुन् ।