• १५ वैशाख २०८२, सोमबार

कांग्रेस महासमिति बैठकमा नैनसिंह महरको फरक प्रस्ताव आउने

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर

काठमाडौं, फागुन ४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमितिमा पेस गरिने तीन वटा प्रस्ताव ल्याइएकोमा असन्तुष्टि जनाउनुभएको छ । शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्नुहुँदै उहाँले उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव तयार पारेर बिहीबार केन्द्रीय समितिमा पेस गरेको प्रति असन्तुष्टि जनाउनुहुँदै ती प्रस्तावको स्वामित्व लिन नसकिने बताउनुभयो ।

महरले प्रस्ताव केन्द्रीय सदस्यहरूसँगको छलफलबिनै तयार पारिएकोमा असन्तुष्टि जनाउनुभएको हो । पार्टीका तर्फबाट केन्द्रीय समितिमा आएका प्रस्तावहरू ल्याउँदा समितिको निर्णय भने पनि आजसम्म संयोजक बाहेक केन्द्रीय सदस्यसँग छलफल नभएको भन्दै उहाँले  आपत्ति जनाउनुभयो ।
‘‘यो भन्दा अघिल्ला सभापतिज्यूको कार्यकालमा केन्द्रीय सदस्यहरूलाई पनि जिम्मा दिने गरेको तर यस पटक पदाधिकारीभन्दा तल झरेको छैन । यी प्रस्तावको हामीले स्वामित्व लिन सक्दैनौं ।,’’ महरले भन्नुभयो ।

उहाँले गठबन्धनको विपक्षमा समेत धारणा राख्नुभएको छ । कांग्रेसलाई जनतामाझ स्थापित गर्न गठबन्धनको आवश्यकता नरहेको महरले बताउनुभयो । निर्वाचनमा कुनै ठाउँमा विशेष परिस्थितिले गठबन्धन गरिए पनि त्यसलाई संस्कारकै रूपमा विकास गर्न नहुने उहाँको  धारणा छ । चुनावअघिको गठबन्धन अब स्वीकार्य नहुने उहाँको भनाइ छ ।

उपसभापति खड्काले तयार पार्नुभएको नीति प्रस्तावमा इतिहासका कुरा मात्रै आएको उहाँले टिप्पणी गर्नुभयो । ‘‘नयाँ कुरा खोइ ?,’’ उहाँको प्रश्न छ, ‘‘कांग्रेसले जीवन उपयोगी मानवतावादी शिक्षाको नीति लिनुपर्छ ।’’ शिक्षा पनि नैतिकतामा आधारित मानवतावादी हुनुपर्नेमा आफू प्रस्ट रहेको उहाँको भनाइ छ ।

यसैगरी, उहाँले महामन्त्री गगन थापाको प्रस्तावमा सभापतिलाई अझै बलियो बनाउने उल्लेख गरिएकोमा विमति राख्नुभएको छ । ‘‘महामन्त्रीको सांगठनिक प्रस्तावमा पार्टीका विभिन्न निकायमा सभापतिले मनोनीत गर्ने कुरामा मेरो विमति छ । समाजवादी र माओवादी समेत निर्वाचनमा केन्द्रित भएको बेलामा पूर्ण निर्वाचित समिति बन्नेतिर पो हामी जानुपर्छ ।’’ उहाँले भन्नुभयो ।

महरले कांग्रेसको नीतिमा युवा रोजगारका विषय समेटिनुपर्ने पनि बताउनुभयो । अहिले देशमा भविष्य छैन भन्दै दिनहुँ हजारौं युवा विदेशी रहेको परिस्थितिलाई कांग्रेसले नजरअन्दाज गर्न नहुने महरले बताउनुभयो ।

उहाँले महामन्त्रीले बिहीबार पेस गरेको प्रतिवेदनमा फरक मत राख्दै लोकतन्त्र आफैँमा पूर्ण हुने भएकाले सम्पूर्णतः लोकतन्त्र भनिरहन आवश्यक नहुने बताउनुभयो ।

यसका साथै महरले पार्टीबाट सरकारमा सहभागी मन्त्री र सरकारको कार्यप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ । कांग्रेसको यही फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक बस्दै छ ।