ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन ४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला र कुइनेमंगलेको सीमा क्षेत्रमा निर्माणाधीन साढे २२ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत आयोजनाको निर्माणलाई तीव्र पारिएको छ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको जलविद्युत आयोजनालाई आगमी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको हो ।
भौगोलिक रुपमा विकट स्थलमा आयोजना भए पनि सुरु भएको एकवर्षको अवधिमा करिब ४० प्रतिशत निर्माण सकिएको छ । यो सुरुङरहित आयोजना हो । आयोजनामा दुईहजार ८ सय मिटर पाइपलाइन छ । आयोजनाले यतिखेर पाइपलाइन र बाँधतर्फको निर्माणलाई तीव्रता दिएको आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिनुभयो । भौगोलिक विकटताका कारण पनि आयोजना निर्माण सुरु भएको एकवर्षको अवधिमा लक्ष्य अनुसार भौतिक प्रगति हासिल भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, "आगमी २०८२ वैशाखभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणलाई तीव्रता दिएका छौं । अहिलेसम्म एक हजार २ सय मिटर पाइपलाइन जडानको काम सकिएको छ । बाँकी पाइपलाइन जडानलाई तीव्रता दिएका छौं ।"
आयोजनाको लक्ष्य अनुसारको भौतिक प्रगति भएको उहाँको भनाइ छ । उहाँका अनुसार आयोजनामा पूर्वाधारतर्फको ठेक्का देव उर्जा कन्ट्रक्सन प्रालिले लिएको छ । आयोजनामा दैनिक दुई सय पचास जना मजदुर परिचालन गरिएको आयोजनाले जनाएको छ ।
बाँधतर्फ ड्याम, अण्डर सुलुस, बालुवा थिग्राउने पोखरी लगायतका पूर्वाधारको काम भैरहेको आयोजना प्रमुख नायकले बताउनुभयो । सुंगुरथलामाथि रघुगङ्गा नदीमा बनाउने बाँधबाट पाइपलाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युगत गृहमा खसालेर उत्पादन हुने विद्युतलाई दानामा निर्माण भएको सबस्टेशनमामार्फत् राष्ट्रिय प्रसारणमा जोडिने आयोजनाले जनाएको छ ।
कुल तीन अर्ब लागत अनुमान गरिएको आयोजनामा प्रवर्धकहरुको तर्फबाट ३० प्रतिशत लगानी हुनेछ भने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ्रे बैँक लिमिटेडले लगानी गर्ने वित्तीय सम्झौता भएको छ ।