इजिप्ट, फागुन ४ गते । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बिहीबार कायरोमा भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग वार्ता गर्नुभएको छ ।
उनीहरुले द्विपक्षीय सम्बन्धलाई स्तरोन्नति गर्ने र गाजापट्टीमा जारी इजरायली युद्धबारे छलफल गरेका थिए । ब्राजिल र इजिप्टको कूटनीतिक सम्बन्धको सय वर्ष पूरा भएको भन्दै अबको बाटो झनै राम्रो हुने बताए ।
उनीहरुले गाजामा तत्काल युद्धविराम हुनुपर्नेमा जोड दिएका छन् । इजिप्ट र गाजाबिचको रफाह सीमा नाका गतवर्ष अक्टोबरमा इजरायलले गाजामा ठुलो सैन्य आक्रमण सुरु गरेदेखि नै राहत सामग्री प्रदान गर्नका लागि प्रमुख लाइफलाइन भएको छ ।
राष्ट्रपति लुलाले राफा क्रसिङ हुँदै घेरामा परेका गाजाबाट करिब दुई हजार ब्राजिलियन नागरिकलाई सुरक्षित निकासी र प्रस्थान गर्नमा इजिप्टको भूमिकाको प्रशंसा गर्नुभयो । दुई नेताले दशकौं लामो इजरायल–प्यालेस्टाइन द्वन्द्वको अन्त्य गर्न स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापनाका लागि आफ्नो समर्थन पनि व्यक्त गर्नुभयो ।
लुलाले आफ्ना इजिप्टका समकक्षीसँगको वार्तामा दुई देशबिचको सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा स्तरोन्नति गर्ने र हाल वार्षिक करिब दुई अर्ब अमेरिकी डलर बराबरको व्यापार आदानप्रदान बढाउने विषयमा छलफल भएको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल