• १३ मंसिर २०८१, बिहिबार

पाँचतारे होटल धमाधम कारबाहीमा

blog

काठमाडौँ, फागुन ४ गते ।  पछिल्ला केही दिनयता नाम चलेका पाँचतारे होटल धमाधम कारबाहीमा परेका छन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाँचतारे होटलमा म्याद गुज्रिएका खाद्यवस्तु र बिनालेबलका वस्तु फेला परेपछि कारबाहीमा परेका हुन् । 

बिहीबार काठमाडौँको बौद्धमा रहेको हायात होटलको अनुगमन गर्ने क्रममा म्याद गुज्रिएका डेरी उत्पादन र पेय पदार्थ भेटिएपछि म्याद गुज्रिएका सामान नष्ट गरी तीन लाख रुपियाँ जरिबाना गरेको विभागले जनाएको छ । विभागका निर्देशक एवं बजार अनुगमन संयोजक आन्नदराज पोखरेलले देशकै ठुला र पाँचतारे होटलको भान्सामा म्याद गुज्रिएका र लेबलबिनाका वस्तु भेटिनु आश्चर्यजनक भएको बताउनुभयो । 

उहाँका अनुसार बुधबार बत्तिसपुतलीमा रहेको द्वारिकाज होटल अनुगमन गर्ने क्रममा पनि यस्तै समस्या भेटिएपछि जरिबाना गरिएको छ । बबरमहलमा रहेको बसेरा बुटिक होटल र लाजिम्पाटको ला हिमालयन होटलले म्याद गुज्रिएका खाद्यवस्तुको प्रयोग गरेकाले जरिबानामा परेका छन् । 

विभागका अनुसार ती होटलका भान्सा र स्टोरमा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएपछि चार ठुला होटललाई तीन लाख रुपियाँका दरले १२ लाख रुपियाँ जरिबाना तिराइएको छ । विभागका निर्देशक तथा बजार अनुगमन संयोजक आनन्दराज पोखरेलले विभागको नियमित अनुगमनका क्रममा ती होटलका भान्सामा प्रयोग हुने दुध, ब्रेड, दही, जुस, आँटालगायतका खाद्यवस्तु म्याद गुज्रिएका भेटिएपछि जरिबाना गरिएको जानकारी दिनुभयो । ती होटलको अनुगमनका क्रममा हिमालयन होटलमा १० हजार आठ सय रुपियाँ, द्वारिकाज होटलमा ११ हजार रुपियाँ र बसेरा बुटिक होटलमा दुई हजार २८० रुपियाँ बराबरको म्याद सकिएको सामान भेटिएको थियो । ती सामान अनुगमन टोलीले नष्ट गरेको थियो ।