• ४ जेठ २०८१, शुक्रबार

घुमन्ते राउटे कृषि व्यवसायमा

blog

अमरगढी समाचारदाता

डडेलधुरा, फागुन ४ गते । आफूलाई जङ्गलको राजा भनेर चिनाउँदै आएका राउटे समुदाय पछिल्लो समय गाउँमै बसेर कृषि व्यवसायमा लाग्न थालेका छन् । घुमन्ते शैलीमा जङ्गली जीवन बिताइरहेका राउटे समुदायले तरकारी खेती गर्न थालेपछि परशुराम नगरपालिका–१२, आमपानीमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण गरिएको थियो ।

दुई वर्षपहिले ६५ लाख रुपियाँ लागतमा निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजना हाल भने जीर्ण बनेको छ । आमपानी गाउँतल रहेको रङ्गुन खोलाबाट लिफ्ट गरी गाउँमाथिको ट्याङ्कीमा पानी पुर्‍याइएको हो । 

गाउँमाथिको ट्याङ्कीबाट आमपानीमा बस्दै आएका राउटे समुदायको खेतबारीमा सिँचाइ गर्ने उद्देश्यले प्रदेश सरकारको करिब ६५ लाख रुपियाँ लागतमा योजनाको निर्माण गरिएको हो । 

यस जिल्लाको सबैभन्दा ठुलो सोलार लिफ्ट सिँचाइ योजना सञ्चालनमा नआउँदै जीर्ण बनेको हो । आमपानी राउटे बस्तीको ३५ घरधुरीका लागि सिँचाइ गर्न सोलार लिफ्ट योजना निर्माण गरिएको थियो । 

यो योजना सञ्चालनमा नआउँदै बन्द भएको स्थानीय दानबहादुर राउटेले बताउनुभयो । स्थानीय उपभोक्ताकै लापरबाहीका कारण पूर्ण रूपमा सञ्चालनमा नआउँदै पानी तान्ने मोटर बिग्रिएको जलस्रोत तथा सिँचाइ कार्यालय डडेलधुराका प्राविधिक रोशन भट्टले जानकारी दिनुभयो । 

आमपानी सोलार लिफ्ट सिँचाइ योजनाको निर्माण कार्य सम्पन्न भएपछि प्रयोगविहीन हुँदा उपकरणमा खिया लाग्न थालेको छ । राउटे समुदायका किसान भने तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका छन् । 

पछिल्लो समयमा अन्न बालीका साथै तरकारी खेती गर्न थालेका राउटे समुदायलाई सिँचाइ गर्न सहजताका लागि लिफ्ट सिँचाइ योजना निर्माण गरिएको हो । स्थानीय राउटे किसानले मर्मत सम्भार नगर्दा लिफ्ट सिँचाइ योजना बन्द अवस्थामा रहेको उहाँको भनाइ छ । सिँचाइको अभावमा राउटे किसानले पर्याप्त मात्रामा तरकारी तथा अन्न बाली उत्पादन गर्न नसकेको स्वीकारेका छन् । आमपानीका राउटे समुदायले छोराछोरीलाई विद्यालय पढाउनुका साथै आफूहरू भने कृषि पेसा अपनाउँदै आएका छन् ।