• १९ वैशाख २०८१, बुधबार

राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने

blog

काठमाडौँ, फागुन ४ गते । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शनिबारदेखि राजधानीमा आयोजना हुने भएको छ । बैङ्कको पहुँचमा नपुग्ने गरिब तथा विपन्न वर्गलाई सेवा दिने लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै आगामी रणनीति बनाउन शनिबार र आइतबार राजधानीमा सम्मेलन हुन लागेको हो ।

स्वावलम्बन विकास केन्द्रको आयोजनामा हुन लागेको सम्मेलनमा नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य, जनप्रतिनिधि गरी सात सय जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ ।

केन्द्रले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले नेपालमा विगतका १०/१२ वर्ष लघुवित्त क्षेत्रका लागि सुनौला दिन रहे पनि पछिल्लो समय केही समस्या देखिएकाले त्यसलाई पहिचान गर्दै निराकरण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । लघुवित्त क्षेत्रको पुनर्संरचना र पुनर्जागरण गर्नुपर्ने आवश्यकता देखिएको भन्दै उहाँले भन्नुभयो, “त्यसका लागि सम्मेलन प्रभावकारी बन्ने अपेक्षा गरेका छौँ । त्यसका लागि सम्मेलनको नारा नै ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ राखिएको छ ।”

विश्वका १७८ वटा देशमा सञ्चालन भइरहेको लघुवित्त मोडल ग्रामीण अर्थतन्त्रको पुनर्संरचनाका लागि उपयुक्त रहेको उहाँको दाबी छ तर पछिल्लो समय देखिएका केही विकृतिले गर्दा नेपालमा लघुवित्त सेवा बदनाम हुन थालेको भन्दै यसलाई सुधार गर्न जरुरी देखिएको उहाँले औँल्याउनुुभयो ।

हाल लघुवित्त वित्तीय संस्था र लघुवित्त गर्ने सहकारी संस्थाले नेपालको ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरिरहेका छन् । 

हाल ५७ वटा लघुवित्त संस्थाले पाँच हजार ८२ शाखामार्फत करिब ६० लाख जनालाई लघुवित्तमा आबद्ध गरेका छन् । यसमध्ये २८ लाख सदस्यले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरिरहेका छन् । लघुवित्त गर्ने संस्थाले चार खर्ब ३२ अर्ब रुपियाँभन्दा बढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्तबाहेक ५० वटा जति लघुवित्त सञ्चालन गर्ने सहकारी संस्था पनि क्रियाशील रहेको आयोजकले जानकारी दिएको छ ।

केन्द्रले प्रत्येक दुई वर्षमा लघुवित्त सदस्य सम्मेलनको आयोजना गर्दै आएको छ । ‘उद्यमशीलताको विकास, गरिबी निवारणको निकास’ नारासहित पहिलो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३ सालमा, ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ नाराका साथ दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७५ सालमा र ‘घरघरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ’ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन, २०७८ सालमा सम्पन्न भएको थियो । यसपालि हुने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जनाएको छ ।