• ९ जेठ २०८१, बुधबार

फोहोर टिप्ने बाहानामा दिउँसै चोरी : पाँच जना पक्राउ

blog

पक्राउ परेका अभियुक्त र बरामद गहना । तस्बिर : नेपाल प्रहरी

काठमाडौं, फागुन ३ गते । फोहोर टिप्ने बाहानामा दिउँसै चोरी गर्ने पाँच जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ माकलबारीस्थित दिलमाया आलेको घरबाट दिउँसोको समयमा कोही नभएको मौका पारी घरको ढोका फुटाइ प्रवेश गरेर सुनका विभिन्न गरगहना तथा नगद ६५ लाख रुपियाँ बराबरको धनमाल चोरी गरी फरार रहेका पाँच जना पक्राउ परेका छन् । स्थायी घर भारत भई हाल काठमाडौँ बस्दै आएका २६ वर्षीय लक्का भन्ने विकास पोदार काठमाडौँको जडीबुटीबाट पक्राउ परेपछि थप अनुसन्धानको क्रममा फागुन २ गते सोमबार बुढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरेर २५ लाख रुपियाँ बराबरको धनमाल चोरी गर्ने पक्राउ परेका प्रहरीले जनाएको छ । यस्तै, गत माघ २८ गते गोकर्णेश्वरमा गीता राईको घरबाट सुन तथा चाँदीका गरगहना तथा नगद समेत गरेर अन्दाजी चार लाख १० हजार रुपियाँ बराबरको धनमाल चोरी गर्ने स्थायी घर भारत भएर काठमाडौँ बस्ने २८ वर्षीय जितेन्द्र पोदार, २७ वर्षीय भाइलाल पोदार, ४० वर्षीय सन्जय पोदार र ५० वर्षीय मञ्जु पोदारलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, बौद्ध पठाएको छ । उनीहरूबाट सुनका विभिन्न गरगहना र विभिन्न कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।