अनिल पराजुली
हेटौँडा, फागुन ३ गते । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
ट्राफिक सप्ताह-२०८० अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना एवम् स्वास्थ्य कार्यालय मकवानपुर र हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले एकसय चारजना चालक र सहचालकको आँखा परीक्षण गरिएको हो ।
पूर्वपश्चिम राजमार्गमा सवारीसाधन चलाउने चालक–सहचालकको हेटौँडामा निःशुल्क आँखा परीक्षण गरिएको छ । आँखा परीक्षणका क्रममा ३० प्रतिशतभन्दा बढीमा दृष्टि दोष, आँखा चिलाउने, जलबिन्दु सुगरकाले आँखामा पारेको प्रभाव, मासु पलाउने जस्ता समस्या भेटिएको हेटौँडा सामुदायिक आँखा अस्पतालका नेत्र सहायक मिलन खत्रीले जानकारी दिनुभयो । उहाँले शिविरमा आवश्यक परामर्श र निःशुल्क औषधी समेत वितरण गरिएको बताउनुभयो । शिविरमा जाँच गरिएको मध्य सात जनालाई आँखाको थप उपचारको लागि आँखा अस्पतालमै जान भनिएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत नवोदित सिलवालका अनुसार ९० प्रतिशत चालक र सह-चालकले सुर्ती र गुट्खाजन्य पदार्थ प्रयोग गर्ने गरेको समस्या पाइएको बताउनुभयो । शिविरमा चालक-सह चालकको स्वास्थ्य परीक्षणका क्रममा उहाँहरूले स्वास्थ्यप्रति ध्यान नदिएको भेटिएको उहाँले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् कार्यालय प्रमुख वसन्त आचार्यले सवारी चालकबाट दुर्घटना हुने भएकाले सुरक्षाका लागि आँखा परीक्षण गरिएको बताउनुभयो । ‘‘सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सप्ताह अन्तर्गत जनचेतना जगाउने उद्देश्यले हामीले चालक र सहचालकको आँखा परीक्षण शिविर राखेका हौँ,’’ उहाँले भन्नुभयो । सार्वजनिक सवारी चालकको कम्तीमा ६ महिनामा आँखा र स्वास्थ्य परीक्षण गराउन सकिए सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने ट्राफिक प्रमुख आचार्यको विश्वास छ ।
ट्राफिक सप्ताह अन्तर्गत दुर्घटना न्यूनीकरणका लागि दुई पटक गरी १२७ सवारी साधनको यान्त्रिक अवस्था पनि जाँच गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा सवारी शाखा र अटोमोबाईल एसोसिएसन मकवानपुरको संयुक्त टोलीले सवारीको यान्त्रिक परीक्षण गरेको हो । परीक्षणका क्रममा ब्रेक, नियमित सर्भिस नगराउने लगायतका समस्या भेटिएको थियो । ट्राफिक सप्ताहमा आयोजना गरिएको विविध कार्यक्रम मार्फत ६६ हजार लाभान्वित भएको प्रहरीको दाबी छ ।
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ११० सवारी दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ भने ५० जना गम्भीर र १८२ जना सामान्य घाइते हुनुभएको छ । ट्रक, ट्रिपर, बस, जिप-कार, मोटरसाइकल, ट्याक्सी, टेम्पो र अन्य सवारी गरी सो अवधिमा १४४ सवारी साधन दुर्घटनामा संलग्न थिए ।
ट्राफिक कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्षमा २५२ सवारी दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको थियो भने २०५ जना गम्भीर र ४०६ जना सामान्य घाइते भएका थिए । त्यस्तै आव २०७८-७९ मा ३१७ सवारी दुर्घटनामा परी ७० जनाको मृत्यु भएको थियो भने १८० जना गम्भीर र ५८४ जना सामान्य घाइते भएका थिए ।
त्यस्तै आव २०७७-७८ मा २५७ सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको थियो भने १७० जना गम्भीर र ३५३ जना सामान्य घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क छ । विगतका तथ्याङ्क अनुसार सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।