चरीकोट समाचारदाता
चरीकोट, फागुन २ गते । दोलखाको तामाकोशी गाउँपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाको कार्यविधि, पालिकाको शिक्षा ऐन र सङ्घीय शिक्षा ऐन अनुसार खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि पालिकाले प्रक्रिया अगाडि बढाएको हो ।
पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने भन्दै गत माघ २५ गते बसेको गाउँ शिक्षा समितिको बैठकले निर्णय गरेको थियो । गाउँपालिकाले माध्यमिक तह, आधारभूत तह को (कक्षा १–८) र (कक्षा १–५) सम्मको विद्यालयका प्रधानाध्यापकको नियुक्तिका लागि सूचना प्रकाशित गरिएको छ । पालिकाभित्र रहेका सामुदायिक विद्यालयको प्रधानाध्यापक नियुक्सिम्बन्धी संशोधित कार्यविधि, २०७९ बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्न सोही कार्यविधिको दफा ४ अनुसार सूचना प्रकाशन गरिएको तामाकोशी गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले योग्यता पुगेका इच्छुक उम्मेदवार तथा शिक्षकले सूचना जारी गरेको २१ दिनभित्र कार्यालय समयमा स्वयम् उपस्थित भएर शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिन सकिने तामाकोशी गाउँपालिकाका शिक्षा प्राविधिक सहायक गोविन्द डिसीले जानकारी दिनुभयो । माध्यमिक तहको विद्यालयको प्रधानाध्यापक हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह (स्नाकोत्तर तहलाई प्राथमिकता दिइने) तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने छ ।
यस्तै आधारभूत तह कक्षा (१–८) का लागि प्रधानाध्यापक हुन मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको र आधारभूत तह कक्षा (१–५) का लागि प्रधानाध्यापक हुन मान्यताप्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । नियुक्ति हुँदा बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने छ । योग्यता पुगेका शिक्षकबाट निवेदन आइसकेपछि लिखित परीक्षा र अन्तर्वार्ताबाट प्रधानाध्यापक छनोट हुने छन् । पालिकाले कार्यविधि निर्माण गरेर प्रधानाध्यापक छनोट गर्न लागेको तामाकोशी गाउँपालिका उपाध्यक्ष सिर्जना सुवेदीले बताउनुभयो ।