बुलबुले समाचारदाता
सुर्खेत, फागुन २ गते । भेरीगङ्गा नगरपालिका–२ स्थित छिन्चु खोलामा निर्माणाधीन पक्की पुलको भुक्तानी दिने रकम नभएपछि निर्माण ठप्प भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार छिन्चु खोलामा ९० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको छ । सडक डिभिजन कार्यालयले २०७९ साल फागुन १५ गते १७ करोड ७२ लाख रुपियाँमा अञ्जना वाइएसएस जेभी काठमाडौँसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अनुसार २०८२ साल वैशाख १५ सम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । हालसम्म १२ प्रतिशत मात्र भौतिक प्रगति भएको जनाइएको छ । दुई वटा फाउन्डेसन निर्माण सकिएको कार्यालयका इन्जिनियर रामकिसुन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार डेढ महिनादेखि भुक्तानी रकम नपाएपछि निर्माण कम्पनीले काम रोकेको छ ।
निर्माण कम्पनीले सडक डिभिजन कार्यालय सुर्खेतमा दुई करोड २५ लाख ८३ हजार रुपियाँको बिल पेस गरेको छ । तथापि कम्पनीले हालसम्म भुक्तानी पाएको छैन । भुक्तानी नपाएपछि पुल निर्माणको काम रोकिएको जनाइएको छ । सरकारले न्यून बजेट विनियोजन गरेका कारण रकम भुक्तानीमा समस्या भएको हो । गत वर्ष पुल निर्माणका लागि एक करोड बजेट विनियोजन गरिएको थियो । यो वर्ष ८९ लाख ३० हजार मात्र छुट्याइएको छ । पर्याप्त बजेट नहुँदा भुक्तानी दिन कठिनाइ भएको सडक डिभिजनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलका पुल निर्माणको धेरै काम बाँकी नै छ । अझै दुई वटा फाउन्डेसन निर्माण, सबस्ट्रक्चर तथा सुपर स्ट्रक्चरको काम बाँकी छ । बजेट अभावका कारण काम अघि बढाउन समस्या भएको छ । पुल निर्माणको काम अघि बढाउनका लागि अर्थ मन्त्रालयमा बजेट माग गरिएको जनाइएको छ । काम नै रोकिने अवस्थामा पुगेपछि अर्थ मन्त्रालयमा थप बजेट माग गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । निर्माण कम्पनीले भुक्तानीका लागि मन्त्रालयलाई ताकिता गरिरहेको छ । उहाँले पुल निर्माणको थप काम अघि बढाउन बजेट माग गरिएको बताउनुभयो ।
बजेट मागका लागि पटक पटक अर्थ मन्त्रालयमा धाइरहनु परेको पौडेलको भनाइ छ । छिन्चु खोलामा निर्माणाधीन पुलका लागि बजेट अभाव भइरहँदा भेरीगङ्गाकै अर्को स्थानमा सम्झौता अवधिमै पुल निर्माण भइसक्दा पनि निर्माण कम्पनीले भुक्तानी पाउन सकेको छैन । भेरीगङ्गा नगरपालिका–५ को सिरेनी खोलामा २४ मिटर लामो ११ मिटर फराकिलो पुल निर्माण भएको छ । तोकिएकै समयमा पुल सम्पन्न भएको हो । पुल बनेर आउजाउ गर्न स्थानीयलाई सहज भए पनि निर्माण कम्पनीले भने भुक्तानी रकम पाएको छैन ।
पुल निर्माणका लागि २०७८ फागुन २९ गते श्री आशिष–योगेश्वर–रुचि जेभी काठमाडौँसँग ठेक्का सम्झौता गरिएको थियो । सडक डिभिजन कार्यालय सुर्खेतले २०८० साल असोज २५ सम्म निर्माण सम्पन्न गर्ने गरी पक्की पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले समयअगावै निर्माण सम्पन्न गरेको जनाइएको छ । २०८० साल असोज २० मा नै पुल निर्माण गरी प्रयोगमा आइसकेको छ ।
सडक डिभिजन कार्यालय सुर्खेतले तीन करोड १६ लाख ६१ हजारमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । कार्यालयले अझै ७२ लाख रकम भुक्तानी गर्न बाँकी छ । ७२ लाख रुपियाँ भुक्तानी दिन बाँकी रहेको कार्यालयका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । यो वर्ष कार्यालयमा उक्त कामको भुक्तानीका लागि पाँच लाख मात्र बजेट प्राप्त भएको छ । पर्याप्त बजेट विनियोजन नहुँदा भुक्तानीमा समस्या भएको जनाइएको छ ।