मुसीकोट समाचारदाता
रुकुमपश्चिम, फागुन २ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५ को यमुनानन्द नमुना माध्यमिक विद्यालयका विद्यार्थी यतिबेला परम्परागत दुनाटपरी बनाउने सिप सिक्न व्यस्त छन् । विद्यालयले पराम्परागत सिपलाई पुस्तान्तरण गर्न र संस्कारका रूपमा विकास गर्न दुनाटपरी बनाउन सिकाउन थालेको हो । विद्यालयका प्रधानाध्यापक कमप्रसाद देवकोटाले व्यावहारिक रूपमा सिप सिकाउनका लागि दुनाटपरी बनाउने सिप सिकाउन थालिएको बताउनुभयो ।
उहाँका अनुसार अहिले विद्यालयको कक्षा ६ देखि १० सम्मका ५० देखि ६० जना विद्यार्थीले सालको पातको दुनाटपरी बनाउन सिकिरहेका छन् । विद्यालयका शिक्षिका प्रेमकला बाँठा, प्रज्वला पुन, सुशीला शर्मा, कल्पना ओली, ममता चन्द र शिक्षक विवेक शर्माले विद्यार्थीलाई उक्त सिपका लागि सहजीकरण गरिरहनुभएको छ ।
सरस्वती पूजालाई प्राथमिकतामा राखेर विद्यार्थीले अहिले दुनाटपरी निर्माण गरिरहेका छन् । शिक्षिका प्रेमकला बाँठाले मुसीकोट नगरपालिका–४, बोरागाउँबाट विद्यार्थी र शिक्षक मिलेर सालको पात टिपेर ल्याउने र दुनाटपरी बनाउने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार बालबालिकालाई थप सिप सिकाउन पढाइ नभएका बेला, खाजा समयको बेला उक्त सिप सिकाइएको छ ।
सरस्वती पूजाका अवसरमा विद्यालयमा पूजा विशेष र सांस्कृतिक कार्यक्रम राखिएको र आउने पाहुनालाई प्रसाद दिनका लागि विद्यार्थीले बनाएका दुनाटपरी नै प्रयोग गर्ने शिक्षिका बाँठाले उल्लेख गर्नुभयो ।
तीन दिनको अवधिमा एक हजार दुनाटपरी निर्माण गरिएको विद्यालयले जनाएको छ । यस कार्यले फजुल खर्च नहुने र स्थानीय स्रोतसाधनको उपयोग हुने छ । विद्यार्थीमा बचत गर्ने बानीको विकास गर्न र सिप हस्तान्तरण गर्न पनि यो प्रयोगात्मक कार्य थालनी गरिएको हो ।