• २४ वैशाख २०८१, सोमबार

शिक्षकलाई पनि छैन सजिलो

सुस्तामा सास्ती, ‘पढ्न नपाएर जीवन अन्धकार भयो’

blog

बोमलाल गिरी

नवलपुर, फागुन १ गते।  सुस्ता वडा नम्बर ५ का गुड्डु खटिएको उमेर अहिले २० वर्ष भयो। ११ वर्षमा उहाँले कक्षा पाँच पास गर्नुभयो। उहाँको चाहाना अलि धेरै पढ्ने थियो। तर गाउँमा भएको एउटा मात्र श्री जनता दलित आधारभूत विद्यालयमा पाँचसम्म मात्र पढाई हुन्थ्यो। ६ कक्षा पढ्नका लागि यता भारतको बिहार हुँदै हिँडेर नेपालको बलिनगर जानुपर्थ्यो अथवा ढुङ्गा चढेर नारायणी पार गरेर जानुपर्थ्यो। तर ११ वर्षको बच्चालाई दिनहुँ त्यसो गर्न सम्भव नै थिएन। त्यसैले उहाँले पाँचभन्दा माथि पढ्न सक्नु भएन। 

गुड्डु मात्र होइन उहाँको परिवारका तीन भाइ र उहाँको काकाका दुई भाइ छोराहरूले पनि यही समस्याका कारण पाँच कक्षाभन्दा माथि पढ्न सक्नु भएन। गाउँमै विद्यालय नहुँदा सुस्ता–५ कै रजनी अहिरको पनि पाँच कक्षाभन्दा माथि पढ्ने चाहानामा पूर्ण विराम लाग्यो। २१ वर्ष पुगेकी रजनीको विवाह पनि भइसकेको छ।

‘पढ्ने मन हुँदाहुँदै पनि पढ्न पाइएन, दिनहुँ भारतको बाटो साइकल पेलेर नारायणी पारी गएर पढ्न सम्भव थिएन, अहिलेजस्तो नारायणीमा इन्जिन भएको ढुङ्गा पनि थिएन, गुड्डु खटिकले भन्नुभयो, सरकारले हाम्रो जीवन अन्धकार बनाइदियो।’

रजनीलाई पनि पढ्ने धोको पुरा गर्न नपाएकोमा पछुतो छ। ‘पढ्न त मन थियो, घरबाट पनि पढ्नु पर्छ भन्नुभएको थियो तर यहाँ ६ कक्षादेखि माथि पढ्ने स्कुल नभएकाले पारी गएर पढ्नु पर्ने, पारी बसेर पढ्न छोराहरूलाई त समस्या थियो, झन् हामी छोरी मान्छे कसरी पढ्नु ?’ पुराना दिन सम्झँदै रजनीले भन्नुभयो। 

श्री जनता दलित आधारभूत विद्यालयमा पाँच वर्षअघिसम्म प्राथमिक विद्यालय मात्र थियो। अहिले भने आठसम्म पढाई हुन्छ। ९ कक्षा पढ्नका लागि अहिले पनि समस्या उस्तै छ। तर उमेर अलि पाको हुने भएकाले विद्यार्थी बलिनगर गएर पनि पढ्न थालेका वडाध्यक्ष प्रभुनाथ यादवले बताउनुभयो। ‘आफन्त हुनेहरू आफन्तको मै बसेर पढ्छन्, कोही कोठा भाडामा लिएर पनि बस्छन्, अध्यक्ष यादवले भन्नुभयो, ‘नारायणीमा झोलुङ्गे पुल बन्दैछ, पुल बनेपछि धेरै सहज हुनेछ।’

विद्यालयको प्रधानाध्यापक भएर काम गरिसकेका शिक्षक उदयबहादुर रुचानका अनुसार पुल बनेपछि पनि साइकलमा झण्डै २०/२५ मिनेट यात्रा गर्नुपर्छ। तीन हजार १३३ जना जनसङ्ख्या रहेको सुस्ताको श्री जनता दलित आधारभूत विद्यालयमा तीन सय ८० जना विद्यार्थी अध्ययनरत रहेको रुचानले जानकारी दिनुभयो। उक्त विद्यालयमा अहिले १० जना स्थायी शिक्षक कार्यरत छन् भने गाउँपालिकाले चार जना शिक्षकका लागि तलब दिएको उहाँको भनाइ छ। १० कक्षासम्म चलाउने विषयमा छलफल भए पनि जनशक्ति अभावले तत्काल त्यो सम्भावना नरहेको रुचानको भनाइ छ।



शिक्षकलाई पनि छैन सजिलो

सुस्ताका विद्यार्थीलाई नारायणी पारी जान समस्या भए जस्तै पारि रहेका शिक्षकलाई पनि दैनिक सुस्तामा आवतजावत गरेर अध्यापन गराउन निक्कै सकस छ। सुस्तामा त्रिवेणी, रानिनगर, कुडिया लगायत स्थानबाट आएर पढाउनु पर्ने बाध्यता छ। शिक्षकहरूले प्रथम त बाटोको सास्ती भोग्नु परेको छ भने दोस्रोमा एसएसबीको हेपाई सहनु परेको छ। 

कुडियाबाट मोटर साइकलमा दैनिक (दुईतर्फी) ४४ किलोमिटर यात्रा गर्नु परेको विद्यालयका शिक्षक नवीन सिंहले बताउनुभयो। ‘हिउँदको समयमा त केही सहज छ तर जब वर्षाको समय हुन्छ, तीन किलोमिटर जति हिलो बाटोमा एक जनाले बाइकको हेण्डल समाउनुपर्छ, दुई तीन जनाले बाइक धकेल्नु पर्छ, शिक्षक सिंहले भन्नुभयो, ‘कैयौँ पटक त हामी लडेर हिलैहिलो भएर पनि विद्यालय आएका छौँ।’

भारतको बाटो हुँदै दैनिक आवतजावत गर्दा भारतीय सुरक्षाकर्मीको हेपाई पनि त्यस्तै भोग्नु परेको विद्यालयका शिक्षक रुचानले बताउनुभयो। ‘एसएसबीले दिनहुँ चेक गरेर कहाँसे आया है, आप कौन है भनेर सोधेर हैरान पार्छ, रुचानले भन्नुभयो, ‘१५/१५ दिनमा उनीहरूको ड्युटी परिवर्तन भइरहन्छ। अनि हामीलाई चिन्दैनन्। उनीहरूको लागि त हामी सधैँ नयाँ भयौँ। यसबाट हामीले सधैँ सास्ती खेप्नु परेको छ।’