• ६ माघ २०८१, आइतबार

विकासको मान्यताअनुसार अघि बढौँ : प्रमुख मिश्र

blog

मधेश प्रदेशसभाको छैठौं वार्षिकोत्सवमा प्रदेश प्रमुख मिश्र, मुख्यमन्त्री यादवलगायत अतिथिहरु । तस्विर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, माघ २१ गते । मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस प्रदेश सङ्घीयताको जननी भएकाले विकास निर्माणको काममा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 

मधेश प्रदेशसभाको छैटौँ वार्षिकोत्सव कार्यक्रममा आज उहाँले सो कुरा बताउनुभएको हो । वार्षिकोत्सव मनाउन गठित मूल समारोह समितिले सप्ताहको अन्तिम दिन आइतबार प्रदेश सभाको प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा मिश्रले भन्नुभयो, “मधेश प्रदेश सङ्घीयताको जननी हो । यसलाई जोगाउने दायित्व हामी सबैको काँधमा छ ।” 

विभिन्न कालखण्डमा देशमा भएको विभिन्नखालका आन्दोलनमा यस प्रदेशका व्यक्तिले अग्रस्थानमा भूमिका निर्वाह गरेर सहिदसम्म भएकाले सहिदको सपना सकार पार्नेवेला आइसकेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख मिश्रले सबैको साथ सबैको विकासको मान्यताअनुसार मधेश प्रदेश सरकार अघि बढ्नु पर्नेमा जोड दिनुभयो । 

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकारले भ्रष्टाचार नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गर्न कामकाज अगाडि बढाएको बताउनुभयो । सङ्घ सरकारले समयमै कानुन नबनाएका कारण प्रदेश सरकारले गर्न खोजेको धेरैजसो काम प्रभावित भएको बताउनुभयो । 

कर्मचारी समायोजन र प्रहरी ऐनको विषयमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र दिँदा प्रधानमन्त्रीले सकारात्मक प्रतिबद्धता दिनुभएको बताउनुभयो । प्रदेशले पूर्णरुपमा अधिकार नपाएसम्म सङ्घीयता कार्यान्वयनमा जटिलता रहिरहने उहाँले बताउनुभयो । 

भौतिक पूर्वाधारमन्त्री एवम् नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा यादवले कम स्रोत साधनमा भ्याएजतिको काम अगाडि बढाएको बताउनुभयो । उहाँले सङ्घीयतालाई बदनाम गर्न पनि विभिन्न खालका षडयन्त्र भइरहेको भन्दै षडयन्त्र विफल पार्न प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिनुभयो ।


भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टी मधेश प्रदेश संसदीय दलका नेता गोविन्द न्यौपानेले मधेश प्रदेशबाट अरू प्रदेशले पनि सिक्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले देशमा सङ्घीयता आए पनि त्यसको अनुभूति जनताले गर्न नसकेको बताउनुभयो । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा (नेकपा माओवादी केन्द्र) का प्रदेश सभा सदस्य मालाकुमारी कर्ण, लोसपाका प्रदेश सभा सदस्य उपेन्द्र महतोसहितले शुभकामना मन्तव्य राख्नुभयो ।