• १३ साउन २०८१, आइतबार

भेरी अस्पतालमा सेवा विस्तारका लागि पहल

blog

छुट्टै प्रसुती गृह निर्माणका बारेमा अध्ययन गर्दै सांसद सहितको टोली ।

सिराज खान 

नेपालगन्ज, माघ १४ गते । पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको उपचार हुने प्रमुख अस्पतालका रूपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेसँगै सेवा विस्तारको पहल पनि सुरु गरिएको छ ।  

पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको सो अस्पतालको प्रसूति सेवालाई थप फराकिलो, प्रभावकारी र गुणस्तरीय बनाउन बाँकेका सङ्घीय सांसद दीपा शर्माले पहल सुरु गर्नुभएको हो । सो अस्पतालमा बाँके र बर्दियासँगै अन्य जिल्लाबाट पनि प्रसूति गराउन आउनेहरू बढ्दै गएकोले प्रसूति सेवाका लागि छुट्टै एउटा थप भवन निर्माण गरेर विशिष्टकृत सेवा उपलब्ध गराउने सोचका साथ पहल सुरु गरिएको सङ्घीय सांसद शर्माले बताउनुभयो ।

उहाँले अस्पतालको परिसरमै रहेको तीन कठ्ठा जमिनमा उक्त प्रसूति गृह निर्माण गर्ने र अप्रेसन लगायत सबै सेवा उक्त भवनबाटै दिनेगरी योजना अगाडी बढाउने बारेमा अस्पतालका चिकित्सक लगायतसँग छलफल गरिएको बताउनुभयो । 

सांसद शर्माले दिनानुदिन प्रसूति सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको र सेवा विस्तार हुन नसक्दा प्रभावकारी सेवा हुन नसकेको कुरालाई ध्यानमा राख्दै विशिष्टकृत सेवामा जोड दिएको बताउनुभयो । उहाँले भेरी अस्पतालको समग्र सेवा बारे चासो व्यक्त गर्दै ५०० बेड सञ्चालन गर्न सबै सम्बद्ध निकायको सहयोग र भूमिका आवश्यक रहेको बताउनुभयो । 

भेरी अस्पतालका प्रमुख डा.पवनजंग रायमाझीले प्रसूति सेवा प्रभावकारी बनाउन आवश्यक रहेको जनाउँदै अस्पताल विकास समितिको बैठक बसेर प्रक्रिया अगाडी बढाइने बताउनुभयो । उहाँले छुट्टै प्रसूति सेवासँगै अभाव रहेका कर्मचारीको परिपूर्ति गरेर गुणस्तर सेवा विस्तार गरिनु पर्नेमा जोड दिनुभयो । सो छलफल कार्यक्रममा सहभागी भेरी अस्पताल विकास समितिका निवर्तमान सदस्य कृष्ण प्रसाद श्रेष्ठले अस्पतालमा समस्याका चाङ रहेको भन्दै सबैभन्दा बढी अप्रेसन गर्न १ वर्ष सम्मको समय लिनुपर्ने समस्या हल गर्न ध्यानाकर्षण गराउनुभयो । 

अस्पतालका पूर्व प्रमुख डा. बद्री चापागाईँले अस्पतालमा प्राथमिकताको आधारमा सेवालाई अगाडी बढाउँदै लिनु पर्ने जोड दिनुभयो । डा. कृतिपाल सुवेदीले हाल अप्रेसन लगायत प्रसूति सेवामा भोग्नु परेको समस्याको समाधानका लागि नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालबिच आमा सुरक्षा कार्यक्रममा सम्झौता गरेर जानु पर्ने बताउनुभयो । 

विक्रम संवत् १९४७ सालमा साधारण चोट पटक लागेका बिरामीको उपचार गर्ने उद्देश्यका साथ स्थापना भएको भेरी अस्पताल १३३ वर्षको इतिहास बनाउँदा विशिष्टकृत सेवा प्रवाहको दिशामा अगाडी बढ्दै गएको छ । लामो समयसम्म १५० बेड सञ्चालित भेरी अस्पताल अब भने ५०० बेड सञ्चालनको तयारीमा अगाडि बढेको छ ।