• १४ जेठ २०८१, सोमबार

सूर्यदर्शन सहकारीका तीन जनाविरुद्ध डिफ्युजन नोटिस जारी

blog

सूर्यदर्शन बचत तथा ऋण सहकारी ।

फडिन्द्र अधिकारी

लेखनाथ, माघ १४ गते। पोखरा महानगरपालिका वडा नम्बर ४ मा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका अध्यक्षसहित तीन जनाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नोटिस जारी गरेको हो ।

सूर्यदर्शको सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना एवं ठगी गरेको अभियोग छ।सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी भएको हो।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले सूर्यदर्शन सहकारीका फरार अभियुक्तहरुविरुद्ध इन्टरपोलले हालै नोटिस जारी गरेको जानकारी दिनुभयो।कास्की प्रहरीले गएको साउन २२ गते सहकारी ठगीसम्बन्धी कसुरमा १९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता दायर गरेको थियो।

तीमध्ये चार जना पक्राउ परेका छन्।बाँकी १५ जना फरार छन्।सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको एक अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको अभियोग छ।

यही सहकारी ठगीमा राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपमहासचिवसमेत रहनुभएका व्यवसायी शिवबहादुर गुरुङ (महेन्द्र भोटे)लाई पुर्पक्षका लागि थुनामा हुनुहुन्छ।गएको मङ्सिर १८ गते जिल्ला अदालत कास्कीले सूर्यदर्शनका सञ्चालक भविश्वर अर्याल र गुरुङलाई थुनामा पठाउन आदेश दिएको थियो।