• २ जेठ २०८२, शुक्रबार

राष्ट्रिय सभा चुनावमा उलटफेर ल्याउने एमालेको प्रयास असफल बन्यो : माधव नेपाल

blog

कार्यक्रममा सहभागी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल।

काठमाडौं, माघ १४ गते। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरूले असफल बनाएको दाबी गर्नुभएको छ। सत्तारुढ दल भित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूले असफल बनाएपछि राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले असफल भएको उहाँको जिकिर थियो। 

आइतबारबाट काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ दल एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जित हासिल गरेको विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको बताउनुभयो। उहाँले राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेले आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास गरेको आरोप समेत लगाउनुभयो।

अध्यक्ष नेपालले भन्नुभयो, ‘‘राष्ट्रियसभाको निर्वाचनमा माघ ११ गते सम्पन्न भएको छ। राष्ट्रिय सभाको १९ पदमा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनले आपसी समझदारीमा भागबण्डा गरेका थिए। तर कोशी प्रदेशमा महिला कलष्टरमा गठबन्धनको भोटक्रस भएर सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) को प्रतिनिधिलाई हराउँदै नेकपा एमालेका प्रतिनिधि निर्वाचित भएर जित हासिल गरेको स्थिति छ। नेकपा एमालेले गठबन्धनमा रहेका दलहरूसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो। वास्तवमा यो सबै हाम्रो पार्टीको विरुद्धमा नै लक्षित थियो। यस अर्थमा पनि त्यो सहमति सफल हुन सकेन। सत्तारुढ दलहरू एकजुट भएर उभिइसकेपछि नेकपा एमालेको हामीलाई कमजोर बनाउने प्रयत्न असफल भयो।’’ 

अध्यक्ष नेपालले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने दिशामा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने दाबीसमेत गर्नुभयो।