• ६ माघ २०८१, आइतबार

बालबालिकालाई न्यानो कपडा वितरण

blog

विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै बर्दीबास हेल्प फाउण्डेसन ।

रवीन्द्र उप्रेती

बर्दिबास, माघ १४ गते । तराई क्षेत्रमा केही दिन यता शीतलहरको प्रकोप छ । कठ्याङ्ग्रिने जाडोबाट विपन्न समुदायका बालबालिका प्रभावित हुन थालेपछि सहयोगका लागि बर्दिबास हेल्प फाउण्डेसन अघि बढेको छ । 

जाडोबाट प्रभावित विद्यालयका बालबालिकाका लागि फाउण्डेसनले अहिले ‘न्यानो अभियान’ नै सञ्चालन गरेको छ । फाउण्डेसनले अहिलेसम्म नगर क्षेत्रका ५ विद्यालयका १२५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । न्यानो कपडा पाउनेमा जन जागृति आधारभूत विद्यालय बुद्धचोक, माध्यमिक विधालय हात्तीलेट, जनजागृति मावि पाटु, राष्ट्रिय आधारभूत  विद्यालय किसान नगर तथा माध्यमिक  विद्यालय कामीडाँडा आधारभूत कक्षामा पढने बालबालिका छन् । 

फाउण्डेसनकी कोषाध्यक्ष तथा न्यानो कपडा वितरण अभियानकी संयोजक सुमित्रा भट्टराईका अनुसार प्रति विद्यार्थी एक हजार २०० को दरले एक लाख ५० हजार मूल्य बराबरको न्यानो ट्रयाकसुट वितरण गरिएको हो । यो रकम फाउण्डेसनका १९ जना सदस्य तथा पदाधिकारीबाट सङ्कलन गरिएको उहाँले बताउनुभयो । 

जाडो झन् झन् बढ्दै गएकोले फाउण्डेसनले न्यानो कपडा वितरण अभियानलाई जारी राखेको जनाएको छ । फाउण्डेसनले आफ्नै कोषबाट नगर क्षेत्रको ६ विद्यालय उच्च कक्षामा अध्यनरत ३१ विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक करिब ४ लाख छात्रवृत्ति वितरण गर्दै आएको छ । 

२०४९ सालमा बर्दीबासको जनता माविबाट एसएलसी दिएका ५० जना विद्यार्थीको सहभागितामा शिक्षा र सामाजिक क्षेत्रको उत्थान गर्ने उद्देश्यले ०७६ सालमा बर्दीबास फाउण्डेसनको स्थापना भएको थियो ।