• १४ मंसिर २०८१, शुक्रबार

‘समुदायमा कांग्रेस’ अभियानमा जिल्ला प्रतिनिधि खट्ने

blog

अभियानबारे जानकारी गराउँदै केन्द्रीय सदस्य बराल । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ १४ गते । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँकेमा ८१ वटै वडामा जिल्ला प्रतिनिधि खट्ने भएका छन् । कांग्रेस जिल्ला कार्यसमिति बाँकेको वैठकले ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

जिल्ला सभापति नारायणप्रसाद गौडेलको अध्यक्षता एवम् ‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँके प्रतिनिधि केन्द्रीय सदस्य गुरु बरालको प्रमुख आतिथ्यमा सम्पन्न वैठकले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यलाई जिल्ला प्रतिनिधिका रुपमा खटाउने निर्णय गरेको सचिव सुधांशु कोइरालाले जानकारी दिनुभयो ।

सचिव कोइरालाका अनुसार जिल्ला प्रतिनिधिलाई केन्द्रीय प्रतिनिधि बरालले अभिमुखीकरण गर्नु हुनेछ । केन्द्रीय प्रतिनिधि बराल अभियानका क्रममा जिल्लाका ८ वटै पालिकामा सहभागी हुने बताइएको छ । वैठकमा पूर्व पार्टी सभापति एवम् राष्ट्रिय सभा सदस्य युवराज शर्मा, पूर्व सभापति कृष्णमान श्रेष्ठ, क्षेत्रीय सभापति, पालिका सभापति, सांसद, स्थानीय तहका प्रमुख उपप्रमुखसमेतको उपस्थिति थियो ।  

कांग्रेसले माघ १६ गतेदेखि माघ २६ गतेसम्म वडास्तरमा अभियान सञ्चालन गर्न लागेको छ । कांग्रेसको अभियान अन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने कांग्रेस बाँकेले जनाएको छ ।