• १३ साउन २०८१, आइतबार

गाउँमा अभिभावक शिक्षा

blog

जुम्ला समाचारदाता

जुम्ला, माघ १३ गते । हिमा गाउँपालिकाको कालिका माध्यमिक विद्यालय क्षेत्रका गाउँका टोल टोलमा अभिभावक शिक्षा सुरुवात गरिएको छ । जुम्लामा हिउँदे सिजनमा विद्यालय बन्द भइरहेको समयमा कालिका माध्यमिक विद्यालयमा बिदाको समयलाई सदुपयोग गरेर अभिभावक शिक्षा सञ्चालन गरिएको हो । 

विद्यालयका प्रधानाध्यापक खम्बा शाहीका अनुसार हिमा गाउँपालिका–१ स्थित कालिका माविको सेवाक्षेत्र गाउँ बड्कीबाट समुदायमा अभिभावक शिक्षा कार्यक्रम सुरु गरिएको छ । सो अभिभावक शिक्षा सेवा क्षेत्रका बड्कीगाउँसहित जोगीबाडा, बाजागाडा, कोइरेली गाउँमा अभिभावकको साथमा अहिले अभिभावक शिक्षा दिइन थालेको छ । 

कालिका मावि सेवा क्षेत्रका पाँच वटा समुदायबाट सुरु गरिएको कार्यक्रममा अभिभावकका घर घर गई शिक्षाको महत्व, फाइदा तथा आफ्ना बालबालिकाको स्थायी पढाइको आनीबानी विकास गर्न सात वटा सन्देश दिइएको प्रअ शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदे बिदाका समयमा विद्यालय बन्द भए पनि अभिभावकलाई आफ्ना बालबालिकाको शिक्षामा सचेत गराउन सो अभियान थालिएको हो ।  

प्लान इन्टरनेसनल नेपाल र पेस नेपालको साझेदारीमा सञ्चालित बालिका सशक्त परियोजनाको सहयोगमा उक्त कार्यक्रम गरिएको जनाइएको छ । बड्कीगाउँका मेघबहादुर शाहीका अनुसार यो अभिभावक शिक्षाबाट धेरै कुरा थाहा पाएको भन्दै यसबाट बालबालिकाको भविष्य राम्रो हुने अपेक्षा व्यक्त गर्नुभयो ।