• ११ मंसिर २०८१, मङ्गलबार

चन्द्रमामा किन पठाइन्छ यान ?

blog

सन् २०२४, जनवरी १९ का दिन जापानको मुन मिसन स्पाइनरले चन्द्रमामा एक यान अवतरण गराएको छ । जापानी स्पेस एजेन्सीका प्रमुख हिरोशी यामाकावाले यसलाई पुष्टि गर्नुभएको थियो । पृथ्वीबाट ३,८४,३९९ किमी टाढा रहेको पृथ्वीको उपग्रह चन्द्रमामा मानिस तथा यान पठाउने देशको सङ्ख्या अब पाँच पुगेको छ । चन्द्रमाको धरतीमा मानिस नै पठाउने पहिलो र अहिलेसम्मको अन्तिम देश अमेरिका हो । यान पठाउनेमा क्रमशः रुस, अमेरिका, चीन, भारतपछि जापान भएको छ । 

पहिलो पटक सन् १९६९ मा अपोलो मिसन अन्तर्गत निल आर्मस्ट्रङ र साथीहरू चन्द्रमामा पुग्दा जुन तहल्का, चर्चा, परिचर्चाका साथमा चन्द्रमामा मानव बस्ती सारिने बहस भएको थियो, पछिल्लो पटक भने भएको पाइँदैन । चन्द्रयान–३ प्रक्षेपणको समयमा भारतमा हर्षबढाइँ नै भएको थियो । आजको दिनमा चन्द्रमामा यान पठाउनु विश्वव्यापी चर्चाको विषय बन्दैन तर विश्वका देश यसमा लागिरहेका छन् । चीनले अहिलेसम्म तीन वटा यान चन्द्रमामा उतारी सकेको छ । अबको छ वर्षभित्र चीनले चन्द्रमामा मानिस नै उतार्ने लक्ष्य राखेको छ । सन् २०२६ भित्र अमेरिकाको नासा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आर्टेमिस मिसनबाट महिलासहित केही अन्तरिक्ष यात्री चन्द्रमामा उतार्ने लक्ष्यसहित जुटेको छ । 

चन्द्रमामा यान पठाउँदा लाग्ने खर्चभन्दा मानिस पठाउँदा लाग्ने खर्च दोब्बर नै हुन्छ किनकि मानव जीवनका लागि चाहिने सबै सुविधा पु-याउनु निर्जीव यान पठाउनुभन्दा ज्यादै चुनौतीपूर्ण कार्य हो । अहिलेसम्मको खर्चको अभिलेख हेर्दा भारतले सबैभन्दा कम खर्चमा चन्द्रयान–३ चन्द्रमामा पठाउन सकेको छ । कुन मिसनका लागि कति खर्च लाग्छ भनेर खोज्नुभन्दा कुन देशले कति यस क्षेत्रमा खर्च गर्छ भनी हेरिन्छ । सन् २०२३ मा प्रकाशित रिपोर्ट अनुसार भारतको चन्द्रयान अभियानको वार्षिक बजेट सात करोड ४० लाख डलर छ भने अमेरिकाको बजेट ९३ अर्ब डलर छ । यसरी हेर्दा अमेरिकाले सरदर स्पेस मिसनमा जिडिपीको ०.२८ प्रतिशत, रुसले ०.१५ प्रतिशत, फ्रान्सले ०.१२ प्रतिशत, जापानले ०.१ प्रतिशत, इटालीले ०.०७ प्रतिशत, जर्मनीले ०.०६ प्रतिशत, भारतले ०.०४ प्रतिशत र दक्षिण कोरियाले ०.०३ प्रतिशत र क्यानडाले ०.०१ प्रतिशत बजेट खर्च गरेको पाइएको छ । 

मानिस जिज्ञासु प्राणी हो । त्यसैले आफ्नो नजिकको उपग्रहमा के छ भनेर जान्ने, त्यहाँको फोटो खिच्ने, त्यहाँको वातावरणको विश्लेषण गर्ने जस्ता उद्देश्यहरू पक्कै पनि हुने नै भए । अपोलो–११ को लुनार अभियानमा नासाले प्रकाशित गरेका उद्देश्यहरू यस्ता थिए– मानिसलाई चन्द्रमामा उतार्नु, अन्तरिक्षको परीक्षण र नमुना परीक्षण, चन्द्रमाको आकस्मिक नमुना परीक्षण, नासाको तथ्याङ्क सङ्कलनको क्षमता मापन, चन्द्रमाको म्यापिङ गर्ने । यी बाहिर देखिने उद्देश्य हुन् । वास्तवमा देशहरूले चन्द्रमामा यान पठाउनुको कारण आफ्नो अर्थप्राविधिक क्षमता विश्वमाझ देखाउने अभिलाषा पनि हो । सामान्य गरिब देशले स्पेस अभियान चलाउन र सफल पार्न सक्दैन । त्यसैले विश्वमा आफ्नो प्राविधिक क्षमता देखाउन र जनताको आत्मबल बढाउनका लागि धनी देशबाट यस्ता अभियान चलाउने गरिन्छ । योभन्दा पनि अझ ठुलो आशा चन्द्रमामा उपलब्ध महँगा खनिज पदार्थ आदि भेटेमा ल्याएर आफ्नो देशको सम्पन्नता बढाउनेतर्फ पनि लालायित भएका हुन सक्छन् । 

यसै गरी दूरसञ्चारको क्षेत्रमा कुनै नयाँ कुरा पत्ता लगाउन अन्तरिक्षको प्रयोग गर्न सकिन्छ कि भन्ने विषय चन्द्रमा यात्राले राखेको हुन सक्छ । केबल दुई/चार वटा फोटो खिच्न, त्यहाँको सतही माटो उचालेर टाउकोमा लगाउनका लागि मात्र अर्बौं खर्चेर चन्द्रमामा यान पठाइन्छ भन्ने कुरा विश्वासयोग्य छैन । वास्तवमा यसले देशको छविलाई विश्वसामु उजागर गर्छ । आम जनतामा आत्मबल बढाएर अन्य काममा पनि शक्तिशाली बन्न सहयोग गर्छ भन्ने पनि उद्देश्य हो । कहिलेकाहीँ सत्तारूढ दलले आफूलाई चुनाव जित्ने हतियारको रूपमा चन्द्रमा यात्रालाई प्रयोग गर्ने गरेको पाइन्छ । चन्द्रमासम्मको मानव यात्रा र यान यात्राहरू विभिन्न कारणले महत्वपूर्ण अभियानका रूपमा रहेका छन् । वैज्ञानिकहरूलाई अन्य आकाशीय पिण्डको अध्ययन गर्नका लागि आधार पनि प्राप्त गर्न सकिन्छ कि भन्ने पनि रहेको छ । 

सन् १९५९ मा जब रुसको लुना यान चन्द्रमामा उत्रियो, त्यो समाचारले विश्वलाई आश्चर्यचकित बनायो । संयुक्त राज्य अमेरिकाको सरकारले त्यतिबेला आपत्कालीन बैठक बोलाएर व्यापक समीक्षा गरेको थियो । के कारणले रुस हामीभन्दा पहिला अन्तरिक्ष पुग्यो भन्ने बारेमा व्यापक छलफल भएको थियो । सम्भवतः हाम्रो शिक्षा प्रणाली कमजोर भएकोले हामी रुसभन्दा पछाडि भयौँ कि भनेर रातारात पाठ्यक्रम परिवर्तन गरेर अमेरिकाले नयाँ शिक्षाको सुरुवात गरेको थियो । आज देख्दा र सुन्दा त्यति आश्चर्य नलाग्ने यी चन्द्र अभियानहरू सुरुसुरुमा व्यापक चर्चाका विषय भएको थियो । सन् १९६१ मा रुसका युरी गागरिन भोस्तक अन्तरिक्ष यानमा चढेर अन्तरिक्ष गएको आठ वर्षपछि अमेरिकाले चन्द्रमामा मानिस नै पठायो । यसरी यो अभियान एकअर्काबिच मनोवैज्ञानिक रूपमा विजय प्राप्त गर्ने साधन पनि हुन गएको छ ।

यसरी गहिरिएर विश्लेषण गर्दा खर्बौं डलर खर्च गरेर वर्तमानमा र विगतमा चालिएका चन्द्र अभियानहरू राष्ट्रिय स्वाभिमान विकासका द्योतक हुन् । यसले देशको समग्र चुस्त दुरुस्तताका मापनको रूपमा पनि लिएको छ । कुनै पनि देश एक प्रयासमा चन्द्रमामा यान पठाउन सफल भएको उदाहरण छैन । अनेक प्रयास गर्दा पनि असफल बेहोरेर अन्तिममा सफल हुने गरेका उदाहरण पनि छन् । गरिब र साना देशले चन्द्र अभियानमा सफलता पाउन नसक्नुको पछाडि देश आर्थिक, वैज्ञानिक तथा प्राविधिक पछौटेपन हो । त्यसैले राष्ट्रलाई वैज्ञानिक रूपमा सफल राष्ट्रको रूपमा चिनाउनका लागि पनि देशहरू यस कार्यमा लागेका छन् । यसको पछिल्लो परीक्षा जापानले उत्तीर्ण गरेको छ । जापानले यसभन्दा अघि धेरै पटक अन्तरिक्ष बाहिर आफ्ना यान पठाउने असफल तथा सफल अभियान सञ्चालन गरेपछि मात्र अहिले चन्द्रमासम्मको आफ्नो अभियान पूरा गरेको हो । 

ऐतिहासिक रूपमा चन्द्रयान पठाउने प्रविधि निकै कठिन थियो । सम्भवतः कम्प्युटरको बढ्दो प्रयोगका कारणले केही सहज भएको त होला तर चन्द्रमा पुग्न हिजो रुस र अमेरिकाले जति प्रयास गरेका थिए, भारत र जापानले पनि त्यत्तिकै प्रयास र प्रयत्न गरेका छन् । खोज अनुसन्धानमा त्यत्तिकै मेहनत गरेका छन् किनकि एक देशले अर्को देशलाई यस्तो प्रविधि सहजै दिँदैनन् । सबै देशले फरक तरिकाले योजना बनाउनु पर्छ ।

यस्ता कार्यले तत्काल जनतालाई गाँस, बास, कपास दिन नसके पनि जनतामा आत्मसम्मान बढ्ने, सोचको दायरा बढ्ने भएकाले अन्तरिक्ष यानसँग सम्बन्धित अभियानहरू विश्वका देशहरूले जारी राखेका हुन् । कुनै कामले तत्काल लाभ दिन्छ भने कुनै कामले दीर्घकालीन रूपमा मानव मस्तिष्कलाई सचेत र सक्रिय बनाउन सहयोग गर्छ । त्यसैले यस्ता कार्य मानवले गर्दै आएका छन् । 

आखिर देशको नाम चम्काउन वा आफूलाई शक्तिशाली देखाउन एक देशले अर्को देशमाथि भौतिक आक्रमण गरेर नरसंहार गर्नुभन्दा यस्तै कार्य गर्नु उत्तम हुन्छ । जनताको आत्मबल बढाउन सक्नु राम्रै हो । चन्द्रयान र मङ्गल अभियानले ती देशलाई आर्थिक रूपमा तत्काल लाभ दिन नसके पनि जनताको स्वाभिमानमा अभिवृद्धि गराउँछ, गौरवान्वित बनाउँछ, अन्तर्राष्ट्रिय मञ्चमा देशको बार्गेनिङ क्षमतालाई बलियो बनाउँछ । त्यसैले यस्ता अभियानमा अर्बौं खर्च हुने गरेको छ । 

जमिनको पूर्वाधारलाई पूर्ण रूपमा बेवास्ता गरेर आकाशमा खर्च गर्न हुँदैन भन्ने तर्कलाई नकार्न सकिँदैन तर यस्ता सफल अभियानले सिधैँ जनतालाई लाभ नदिने भए पनि देशको सम्मानमा अभिवृद्धि गर्ने अब पक्का भएको छ । आगामी दिनमा मङ्गल, शुक्र, बृहस्पति ग्रहमा कुनै यान उत्रेमा आश्चर्य मान्नु पर्दैन किनकि मानिसले आश्चर्यजनक काम गर्न नसकेमा मानिस हुनुको के नै अर्थ रह्यो र ! यथास्थितिमा पशु पनि सजिलै बाँचेका छन् ।

Author

रामप्रसाद गौतम