अविनाश चौधरी
धनगढी, माघ १० गते। कैलालीको गोदावरी नगरपालिका–८ मजगाउँमा माघ महोत्सव हुने भएको छ।
थारू समुदायको हराउँदै गरएको लोककला, रीति संस्कृति, संरक्षण सम्वद्र्धनका लागि महोत्सव आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन गरी जनाइएको छ। थारू कल्याणकारिणी सभा गोदावरी नगर समिति र बरघर भलमन्सा नगर समितिको आयोजनामा महोत्सव हुन लागेको हो।
माघ १२, १३ र १४ गते महोत्सव आयोजना गर्ने थारु कल्याणकारिणी सभा गोदावरीका नगर अध्यक्ष जनकलाल चौधरीले जानकारी दिनुभयो। थारू समुदायको पहिचानसँग जोडिएको लोककला, संस्कृति, गीतबास, रीतिरिवाज, चालचलन, बोलीभाषा, लवाई खवाई दिनप्रति दिन हराउँदै गएकोले त्यसको संरक्षण र सम्वद्र्धनका लागि महोत्सवको आयोजना गर्न लागेको उहाँले बताउनुभयो।
महोत्सव आयोजनाले थारु समुदायको लोककला, संस्कृति जगेर्नामा टेवा पुग्ने थारु कल्याणकारिणी सभा कैलालीका पूर्व कार्यबाहक सभापति माधव चौधरीले बताउनुभयो। महोत्सवबाट पर्यटन र आधुनिक कृषि प्रवद्र्धनमा पनि सहयोग पुग्ने उहाँको विश्वास छ।
महोत्सवको उद्घाटन सुदूरपश्चिमका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले गर्ने आयोजकले जानकारी दिएको छ। महोत्सवमा स्थानीय भाँकीहरू प्रदर्शन गरिनुका साथै थारू राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ। त्यस्तै, २६ गाउँको नाच पनि प्रदर्शन गरिने जनाइएको छ। यसैगरी, महोत्सवमा थारु खानपानको परिकार, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला पनि रहने आयोजकले जानकारी दिएको छ।