• १९ असोज २०८१, शनिबार

वडा सचिव नपठाएको भन्दै वडा कार्यालयमा तालाबन्दी

blog

स्थानीयले तालाबन्दी गरेको बुढीगङ्गा नगरपालिका–७ को वडा कार्यालय । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, माघ १० गते । जिल्लाको बुढीगङ्गा नगरपालिका-७ मा तालाबन्दी गरिएको छ । लामो समयमा पनि नगरबाट सचिव नपठाएको भन्दै यहाँका स्थानीयले वडापालिकामा तालाबन्दी गरेको हो।

स्थानीय तहको दोस्रो निर्वाचनपछि अहिलेसम्म यस वडामा सचिव नपठाएकोले गत माघ ८ गतेदेखि अहिलेसम्म वडा पालिकामा तालाबन्दी गरेको नेपाली कांग्रेस बुढीगङ्गा नगरपालिका-७ का वडा सभापति वीरबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि वडामा सचिव नहुँदा यहाँका स्थानीयले वडाबाट पाउने सेवा सुविधाका लागि अन्य वडामा जानुपर्ने समस्या भोग्दै आएकोले वडामा ताला लगाएका हौँ ।”

पालिकाका अन्य वडाले सचिव पाउनु र यो वडाले सचिव किन नपाएको भन्दै यस वडाका सबै राजनीतिक दलहरूको संयुक्त रोहोवरमा ताला लगाएको केसीले बताउनुभयो । वडापालिकामा तालाबन्दी भएपछि अहिले यहाँका स्थानीयले नागरिकता सिफारिस, जन्म दर्ता, विवाह दर्ता, बसाइँ सराई, मृत्यु दर्ता लगायतका सिफारिस लिनबाट वञ्चित भएका छन् । 

यहाँका स्थानीयले वडा कार्यालयबाट पाउने विभिन्न सेवा सुविधाका लागि अन्य वडाको सहारा लिनुपर्ने भएपछि वडाको के काम भनेर तालाबन्दी गरेको बुढीगङ्गा नगरपालिका वडा–७ का वडा एमाले प्रतिनिधि प्रेमबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाले नगरपालिकामा सचिवका लागि धेरै पटक पत्राचार गरेको भएपनि अहिलेसम्म त्यहाँबाट सचिव नपठाएकोले वडामा तालाबन्दी गरेको हो ।”

नेपाली कांग्रेस नेकपा एमाले नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीका वडाका प्रतिनिधिहरूको रोहवरमा माघ ८ गते यस वडामा तालाबन्दी गरेको वडा अध्यक्ष भुवनसिंह केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “आफू दोस्रो कालको निर्वाचन भएदेखि अहिलेसम्म वडाले सचिव नपाएको हो ।”

वडामा सचिव पठाइ दिनु भनेर धेरै पटक मौखिक लिखित रूपमा नगरपालिकामा पत्र पठाएको भएपनि अहिले सम्म वडाले सचिव नपाएको केसीले बताउनुभयो । त्यहाँका स्थानीयले माघ ८ गतेदेखि वडामा ताला लगाएको भन्ने कुरा सञ्चार माध्यमबाट सुनेको छु । त्यसको बारेमा औपचारिक रूपमा भने केही जानकारी भएको छैन, बुढीगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शङ्कर नाथले भन्नुभयो । 

“त्यस वडामा धेरै जना कर्मचारीहरूलाई पठाएपनि उहाँले त्यहाँ जान मान्दैनन् । जबरजस्ती पठाउन खोजे उनीहरूले आफ्नो सुरक्षाको ग्यारेन्टी कसले लिने भन्ने गरेपछि अहिले सम्म त्यो वडा सचिवविहीन भएको हो,” उहाँले भन्नुभयो । वडामा सचिव पठाउन लागि आज फेरि कर्मचारी बैठक बसालेको प्रमुख प्रशासकीय अधिकृत नाथले बताउनुभयो ।