• १३ साउन २०८१, आइतबार

दलित बस्तीमा खानेपानीको हाहाकार

blog

धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित दलित बस्ती । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ १० गते । धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित दलित बस्तीका ६५ घरपरिवार वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । पुरै बस्तीमा खानेपानीको एउटा पनि स्रोतसाधन नभएकाले उहाँहरू वर्षौँदेखि खानेपानीको समस्याबाट ग्रसित हुँदै आएका छन् । 

दलित बस्ती बटेश्वर गाउँपालिका कार्यालयको ढोका अगाडी छ । त्यति नजिक भएपनि उहाँहरूको समस्याप्रति जनप्रतिनिधि र जिम्मेवार कर्मचारीको नजर पुग्न सकेको छैन । कार्यालयको गेटबाट मुस्किलले २० मिटरको दुरीमा सो दलित बस्ती छ । 

बस्तीमा डुम, चमार, दुसाद र मलहा लगायत दलित समुदायको बसोबास छ । आफूहरू दलित भएकै कारण राज्यका निकायले विगतदेखि भोग्दै आएको खानेपानीको समस्या समाधानका लागि पहल नगरेको उहाँहरूको आरोप छ । 

पुरै बस्तीमा चापाकल, इनार, डिप ट्युबवेल लगायत खानेपानीको कुनैपनि स्रोत नभएकाले यहाँका दलित समुदाय वर्षौँदेखि खानेपानीको कष्ट झेल्दै आएको स्थानीय मणिलाल पासवानले बताउनुभयो। परको गाउँबाट पानी ल्याएर यहाँका बासी गर्जो टार्ने गरेको उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, "गाउँमा दशकौँ पुरानो एउटा इनार थियो । त्यसबाटै पानी उपभोग गर्दथ्र्यौँ । एक दशक अगाडी सो इनार भासिएर पानी आउन छोडेपछि यहाँ खानेपानीको समस्या सृजना भएको हो ।" यहाँको समस्या लिएर स्थानीय तहका जनप्रतिनिधिलाई पटक-पटक जानकारी गराउँदा पनि उहाँहरू बेवास्ता गर्दै आएको पासवानले गुनासो गर्नुभयो । 

सोही गाउँकी रिता मल्लिकले यहाँ खानेपानीको चरम समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "यहाँ त पानी किनेर खानुपर्छ । इनारमा निजी मोटर जडान गरेकालाई पानी भरेको मासिक दुई-अढाई सय रुपियाँ तिर्नुपर्छ ।" परबाट तसला, गाग्री र प्लाष्टिकको जर्किनमा पानी बोकेर ल्याउने गरेको देखाउँदै उहाँले पानी बोकेर ल्याउँदा शारीरिक समस्या हुने गरेको बताउनुभयो ।

गाउँको सडकमा पक्की ढलान भएपछि स्थानीयले जनप्रतिनिधिको प्रशंसासमेत गरेका छन् । गत आर्थिक वर्षमा स्थानीय तहको आर्थिक स्रोतबाट गाउँको बाटोमा पक्की ढलान गरिएको स्थानीय फुलोदेवी पासवानले बताउनुभयो । "तर, खानेपानीको समस्या जस्ताकाे त्यस्तै छ । गाईगोरुलाई पानी खुवाउनदेखि लत्ताकपडाका साथै नुहाउनका लागि पानीको समस्या छ", उहाँले भन्नुभयो । 

सोही वडाका वडाध्यक्ष नीरज कार्कीले दलित बस्तीमा गतवर्ष मात्र सात वटा चापाकल गाडिएको दाबी गर्नुभयो । जमिन मुनि पानी सतह घट्दै गएपछि सो चापाकलहरु सकेर गाउँमा खानेपानीको समस्या भएको उहाँले बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा सो ठाउँमा एउटा गाडिने योजना रहेको बताउँदै त्यसका लागि बजेटसमेत बिनियोज भइसकेको जानकारी दिनुभयो । 

बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले तत्कालै कार्यालयबाट दलित समुदायलाई पानी उपलब्ध गराउने बताउँदै दीर्घकालिनरुपमा समस्या समाधानका विकल्प खोजिने बताउनुभयो ।