• १६ वैशाख २०८१, आइतबार

निजामती सेवामा अब्बल बन्दै गुल्मी

blog

लोक सेवा आयोगको परीक्षामा उत्कृष्ट नतिजा ल्याउनु हुने गुल्मीका अनीश गिरि, मनीषा जिसी र रमेश भण्डारी । तस्बिर: गोरखापत्र

तिलाचन पाण्डे

तम्घास, माघ १० गते । निजामती सेवामा गुल्मी अब्बल बन्दै गएको छ । केही समय अगाडि शाखा अधिकृतको नतिजाले पनि निजामती सेवामा गुल्मी अब्बल बन्दै गएको पुष्टि गरेको छ । 

धुर्कोट गाउँपालिका वडा नम्बर ५ का रमेश भण्डारी, मालिका गाउँपालिका वडा नम्बर ५ का अनीश गिरी र धुर्कोट गाउँपालिका वडा नम्बर ३ की मनीषा जिसी (विष्णु घर्ती) ले लोकसेवामा आफूहरूले अनौठो प्रतिभा प्रस्तुत गर्नुभएको हो । उहाँहरूले क्रमशः १०, ७ र ५ परीक्षा छोटै अवधिमा उत्तीर्ण गरेका उहाँहरू अहिले लोकसेवामा उदाहरणीय पात्रका रूपमा प्रस्तुत हुनुभएको छ  । 

गुल्मीकी २३ वर्षीय मनीषाले एक वर्षमै लोक सेवाका पाँच परीक्षा उत्तीर्ण गर्न सफल हुनुभएको छ । महिलाहरू घरको चुलो चौकोमा मात्र सीमित रहन्छन् र बाहिर नेतृत्व गर्न सक्दैनन् भन्नेहरूका लागि मनीषाले गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ ।

धुर्कोट गाउँपालिका वडा नम्बर ३ की २३ वर्षीय मनीषा जिसी (विष्णु घर्ती) ले हालै मात्र लोक सेवाले एक वर्ष भित्रमा लिएका पाँच परीक्षा उत्तीर्ण गर्नुभएको छ  । उहाँले कोसी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेश, प्रदेशस्तरीय स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेश स्थानीय स्तरीय स्वास्थ्य सेवातर्फ चौथो तह, बागमती प्रदेश अन्तर्गत स्वास्थ्य सेवा पब्लिक हेल्थ नर्सिङ समूह पाँचौँ तह र सङ्घीय लोकसेवा आयोग अन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गर्नुभएको छ । 

सानैबाट आफूले पढ्नुपर्छ र सरकारी जागिर खानु पर्छ भन्ने लक्ष्य भएकाले  मेहनत गरे अनुसार नै सफल भएको उहाँले बताउनुभयो । यस समय अवधिमा धेरै आरोह अवरोह खेप्नु परेको बताउँदै उहाँले निरन्तरताले नै सफल बन्न सकिँदो रहेछ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएको बताउनुभयो । यो अवधिमा आफूलाई घरपरिवारको ठुलो साथ र सहयोगले मात्र आफू यहाँसम्म आउन सकेको उहाँको भनाइ छ । 

पछिल्लो समयमा युवाहरू बिदेसिने प्रचलन रहेको बताउँदै विदेशमा भन्दा स्वदेशमै धेरै सम्भावना रहेको उहाँले बताउनुभयो । देशमै असल कार्य गर्ने र राष्ट्रको सेवा गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ । लोकसेवाको तयारी गरिरहेकालाई उहाँले परीक्षामा एक पटक असफल भए भन्दैमा हार नखान र निरन्तरता दिन सुझाव दिनुभयो । घर परिवार र समाज बदल्नका लागि महिलाहरूको देन ठुलो रहने भएकाले महिला दिदी बहिनीहरूमा भएको क्षमता प्रस्तुत गर्न उहाँले आग्रह गर्नुभयो ।

गिरी अहिले लुम्बिनी प्रदेशमा सहायक स्तर पाँचौँ तहमा कार्यरत हुनुहुन्छ । उहाँले १९ वर्षको उमेरमै लोकसेवाका सात परीक्षा उत्तीर्ण गर्नुभयो । गत असारमा मात्र १९ वर्ष पुग्नुभएका गिरीले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको प्रशासनतर्फ वरिष्ठ सहायक पाँचौँ तह, लेखातर्फ वरिष्ठ लेखा सहायक पाँचौँ तह, नेपाल वायुसेवा निगमको लेखातर्फ पाँचौँ तह, लुम्बिनी प्रदेश निजामतीको प्रशासनतर्फ सहायक स्तर पाँचौँ तह, लुम्बिनी प्रदेशबाट स्थानीय तहतर्फ सहायक पाँचौँ तह प्रशासन, लेखातर्फ लेखा सहायक पाँचौँ तह र आन्तरिक लेखा परीक्षण तर्फ आलेप सहायक पाँचौँ तहमा उत्तीर्ण हुनुभएको छ ।

भण्डारीले अहिले नेपाल सरकारको शाखा अधिकृतमा कार्यरत हुनुहुन्छ । उहाँले एक वर्षमै लोकसेवाले लिएका १० परीक्षा उत्तीर्ण गर्नुभयो । गण्डकी प्रदेश स्थानीय पाँचौँ तह, सङ्घीय नायब सुब्बा प्रशासन, सङ्घीय नायब सुब्बा लेखा, कृषि विकास बैङ्क पाँचौँ तह सहायक, गण्डकी प्रदेश चौथो तह, विद्युत् प्राधिकरण पाँचौँ तह, नेपाल विद्युत् प्राधिकरण चौथो तह, नेपाल टेलिकम सहायक व्यापार अधिकृत, नेपाल टेलिकम चौथो तह र शाखा अधिकृतमा उत्तीर्ण हुनुभएको हो । 

लगातारको मेहनत र परिश्रमले सफल हुनुभएका भण्डारी, गिरी र जिसीले आफूलाई मात्र होइन लोकसेवामा सम्भव छ भन्ने उदाहरण अरूलाई पनि प्रस्तुत गर्नुभएको छ ।  लोक सेवाको तयारी गरेको छोटो समयमै मेहनत सफलता हात पार्नुभएका भण्डारीले अझै जिम्मेवारी थपिएको  बताउनुभयो । उहाँले असल राष्ट्र सेवक बन्ने आफ्नो चाहना रहेको बताउनुभएको छ । यसका साथै लगातारको मेहनतले निजामती सेवाको मुख्य सचिव बन्ने लक्ष्य रहेको बताउनुभयो । भण्डारीले लोकसेवा मात्रै एक वर्ष तयारी गरेर १० परीक्षा उत्तीर्ण गर्नुभएको हो ।   

यस्तै गुल्मीबाट कर्मचारीको उच्च पदस्थमा पुग्ने लीलामणि पौडेलले पनि नेपाल सरकारको मुख्य सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो ।