• १३ साउन २०८१, आइतबार

पुनर्निर्माण अघि बढाउन माग

blog

जाजरकोट समाचारदाता

जाजरकोट, माघ १० गते । जाजरकोटमा भूकम्पपीडित तथा सरोकारवालाले पुनर्निर्माणको प्रक्रिया छिटो अघि बढाउनुपर्ने माग गरेका छन् । उनीहरूले आवास पुनर्निर्माणका लागि सरकारले आठदेखि १० लाखसम्म रकम दिनुपर्ने माग गरेका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी जाजरकोट खलङ्गामा आयोजित सरोकारवालाको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।  

नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले भूकम्पपीडितको पनि वर्गीकरण गरी सोही अनुसार आवश्यक सहायता प्रदान गर्न, निजी आवास, सरकारी भवन, विद्यालय भवन र ऐतिहासिक दरबारलगायत पुरातात्त्विक संरचनाको पुनर्निर्माणमा जोड दिन माग गर्नुभयो । भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा भइरहेको ढिलाइबारे गुनासो गर्दै उहाँले तत्काल पुनर्निर्माणमा लाग्नुपर्ने सुझाव दिनुभयो । नेपाल पत्रकार महासङ्घका बालकुमार शर्माले बैङ्कहरूको ढिलासुस्ती, स्थानीय तहको अलमल, अस्पष्ट कार्यविधिलगायतका प्रक्रियागत झन्झटलगायतका कारण पुनर्निर्माणमा ढिलाइ भएको बताउँदै तत्काल स्थायी पुनर्निर्माणका काम थाल्न आग्रह गर्नुभयो ।

स्थानीय तहका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिले अस्थायी आवास कार्यविधि अझै सरल बनाउन आग्रह गर्दै स्थायी पुनर्निर्माणको प्रक्रिया तत्काल थाल्न सुझाव दिएका थिए । साथै उनीहरूले निर्माणमा विभिन्न प्रक्रियागत समस्याका कारण ढिलाइ भएको, स्थायी पुनर्निर्माणको प्रक्रिया छिटो सञ्चालन गर्नुपर्ने, अस्थायी आवास निर्माणको कार्यविधि संशोधन गर्नुपर्नेलगायतका सुझाव राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वमन्त्री जनार्दन शर्माले जाजरकोट भूकम्पको प्रक्रिया ढिलाइ भएको लागे पनि सरकारका तर्फबाट भएको अहिलेसम्मकै विपत्पछिको छिटोछरितो भएको बताउनुभयो । बरु उहाँले जोखिमपूर्ण बस्तीको भौगर्भिक अध्ययनका लागि भूगर्भविद् पठाइदिन आग्रह गर्दा पनि सरकारले ढिलाइ गरेको गुनासो गर्नुभयो । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तत्काल विस्तृत क्षतिको विवरण सङ्कलनको काम सुरु हुने र स्थायी पुनर्निर्माणको प्रक्रियामा अगाडि बढ्ने जानकारी दिनुभयो । कार्यक्रममा प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले पुनर्निर्माणको कार्यविधि पीडितलाई नै सहज हुने गरी बनाइएको बताउनुभयो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लाको हालसम्मको भूकम्पपछिको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।