गुणबहादुर रोका
सुलीकोट, माघ १० गते । गोरखाको पालुङटार नगरपालिका–१० मिरकोटको कोटगढीमा धार्मिक महोत्सव हुने भएको छ । यही माघ ११ गतेबाट पर्यटकीय धार्मिक स्थल विश्वेश्वर महादेव मन्दिरको संरक्षण तथा संवर्द्धन गरी आन्तरिक पर्यटन तथा बाह्र पर्यटन भित्राउने उद्देश्यले धार्मिक महोत्सव आयोजना गरिएको पालुङटार नगरपालिकाका–१० का अध्यक्ष रिखीराज द्यैरालीले जानकारी दिनुभयो ।
कोटगढीलाई धार्मिक तथा सांस्कृतिक तीर्थस्थलको रूपमा विकास गर्न पनि महोत्सवले सघाउने अपेक्षा गरिएको छ । महोत्सवबाट बचेको पैसाले भ्यूटाबर तथा धर्मशाला निर्माण गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
माघ १८ सम्म हुने मेलामा कथा बाचक रामानुजदास सन्तोषले कथा वाचन गर्नु हुने छ । त्यस्तै भजन कीतृन, देबलिला झाँक्री, तथा चेतनामूलक नाटक प्रस्तुत हुने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन शोभा कलश यात्रा तथा उद्घाटन कार्यक्रम हुने छ । त्यसपछि दैनिक कथाको साथमा भजनकीतृन तथा झाक्रीहरुको प्रदर्शनी लगायतको कार्यक्रम तय गरिएको छ ।
महोत्सवबाट २० देखि २५ लाख सम्म रकम सङ्कलन हुने अनुमान गरिएको छ । पर्यटन विकासलाई सघाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक प्रेम खत्रीले बताउनुभयो ।
त्यस ठाउँ बाइसे चौबीसे राज्यको पालामा राजाहरूले आफ्नो किल्लाको रूपमा प्रयोग गरिएको त्यहाँका शील लेखबाट उल्लेख गरिएको पाइएको छ । पछिल्लो समय कोटगढी घुम्न पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ । महोत्सवले कोटगढी स्थित विश्वेश्वर महादेव मन्दिर संरक्षण र प्रवर्द्धनमा पनि सघाउ पुग्ने विश्वास लिएको छ ।