• १३ साउन २०८१, आइतबार

आन्तरिक पर्यटकको रोजाइमा चिन्डेडाँडा

blog

निशा राई

धरान, माघ १० गते । धरान उपमहानगरपालिका–२० मा पर्ने चिन्डेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । 

धरानदेखि सात किलोमिटरको दुरी पार गरेपछि धरान २० मा पर्ने चिन्डेडाँडा पुग्न सकिन्छ । यहाँबाट धरान, तराईका विभिन्न भाग र खुल्ला मौसम भएमा सप्तकोशीको रमणीय दृश्य पनि देखिने भएकाले आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ । 

यहाँबाट प्याराग्लाडिङ उडानसमेत हुने गरेको छ । यो ठाउँले पोखरालगायतका अन्य पर्यटकीय क्षेत्रको झल्को दिने गरेको त्यहाँ पुग्नुभएको पर्यटक धरान १६ निवासी निङमा शेर्पाले बताउनुयो । उहाँसँगै आउनुभएका धरान १६ निवासी रमेश कार्कीले धरानको रमणीय स्थल देखिने भएको कारण बिदामा चिन्डेडाँडामा आउने गरेको बताउनुभयो । 


झापाको दामकबाट साथीहरूसँग घुम्न आउनुभएका युवराज सुवेदी पनि यहाँबाट देखिने मनोरम दृश्यले निकै आनन्दको महसुस हुने बताउनुहुन्छ । उदयपुर ग्राहीका निवासी रिपमर्दन बुढाथोकीले धरान आउँदा घुम्नै पर्ने ठाउँमध्ये चिन्डेडाँडा पनि रहेको बताउनुभयो । 

जीर्ण सडक भएका कारण कतिपय पर्यटकहरू आउन खोजे पनि आउन नसकेको धरान ११ शशी राईले बताउनुभयो । यहाँसम्म पुग्ने जीर्ण सडकलाई सुधार गरेमा पर्यटक बढ्ने उहाँको भनाइ छ । दैनिक रूपमा दुई सयदेखि चार सयसम्म र बिदाको समय र शुक्रबार, शनिबार पाँच सयदेखि एक हजारसम्म पर्यटकहरू आउने गरेको स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङ बताउनुहुन्छ । उहाँले विगत १३ वर्षदेखि यस ठाउँमा व्यवसाय गर्दै आउनुभएको छ । 

बिदाको समयमा धेरैजसो विद्यार्थीहरू ट्रेकिङका रूपमा आउने गर्छन् । यहाँबाट ऐतिहासिक स्थल सुलीकोट, झण्डीडाँडालगायतका दर्शनटुप्पो भएको स्थानमा समेत पुग्ने र एक रात बास बसेर फर्कन सक्छन् । 


यद्यपि, यहाँ बास बस्नका लागि त्यति राम्रो व्यवस्था भने हुन नसकेको होटल व्यवसायी वसन्ती तामाङले बताउनुभयो । यहाँ आउने पर्यटकहरूले यहीँ मात्र पाइने भट्टु चामलको खाना, गुन्द्रुकको अचार, सुकुटी लोकल कुखुरा बढी मन पराउने गरेको व्यवसायी तामाङले बताउनुभयो । 

करिब पाँच वर्षअघि चिन्डेडाँडासम्म पुग्ने बाटो गोरेटो मात्र थियो । अहिले कच्ची सडकसम्म बनेको छ । दुईप्राङ्ग्रे मोटरसाइकल, अटो रिक्सालगायतका सवारीसाधन यस ठाउँमा पुग्न सक्छन् ।