• १३ साउन २०८१, आइतबार

मूर्तिमा सगरहवा नरसंहारको चित्रण

blog

कार्यशालामा मूर्ति कुँदिरहेका मूर्तिकार । तस्बिर : भुवन कार्की

भुवन कार्की

कपिलवस्तु, माघ १० गते  । कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्त्विक स्थल सगरहवाको लम्बुसागर ताल क्षेत्रमा पुग्दा निर्जीव ढुङ्गामा चित्र कुँदेर जीवन्त कला भर्ने मूर्तिकारहरू एकाग्र रूपमा काममा व्यस्त देखिन्थे । 

कडा चट्टाने ढुङ्गामा फलामका औजार चलाएर ऐतिहासिक विविधताको सन्देश दिन उनीहरू तल्लीन थिए । आफूहरू धुलाम्मे भएर कडा पत्थरमा ऐतिहासिक घटनाक्रम स्मरण गराउने गरी प्राण भर्न उनीहरू व्यस्त छन् । 

लुम्बिनी विकास कोषले आयोजना गरेको १५ दिने मूर्ति कार्यशालामा मूर्ति कुँद्न व्यस्त रहेका नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख दिनेश्वर महतोले ऐतिहासिकता झल्कने गरी मूर्ति कुँद्न पाउँदा आफू आनन्दित भएको अनुभव सुनाउनुभयो । 

अर्का मूर्तिकार सुस्मिता मोक्तानले पनि कडा परिश्रम गरेर ढुङ्गाहरूमा कला भर्दा प्रफुल्लित भएको उल्लेख गर्नुभयो । मूर्तिकार महतोले सञ्चारकर्मीसमक्ष सगरहवाको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको चर्चा गर्नुभयो ।

के हो सगरहवा 

शाक्यमुनि बुद्धको जीवनको उत्तरार्धतिर कोशल राज्यका राजा विडुडभले बुवा पूर्णजितलाई झुक्याएर शाक्यपुत्री भनी दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधवश कपिलवस्तु राज्यका हजारौँ शाक्यको सामूहिक वध गरेको स्थानका रूपमा सगरहवालाई चिनिन्छ । 

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट नौ किलोमिटर र तिलौराकोटबाट छ किलोमिटर उत्तर, पूर्वपश्चिम राजमार्गको बनगाईबाट सात किलोमिटर तथा नेपालको दोस्रो पन्छी आरक्ष जगदीशपुर तालको दक्षिणमा सगरहवा रहेको छ । 

स्थानीय भाषामा लम्बुसागर भनेर चिनिने सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरूको सम्झनामा सयौँ स्तूप निर्माण गरेको पाइन्छ । सो इतिहास चिनियाँ यात्री हुयन् साङ्कोको सन् ६३६ को यात्रावृत्तान्तमा उल्लेख गरिएको पाइन्छ । सन् १८९७ मा डा. फुुरर्हरद्वारा गरिएको उत्खनन तथा अन्वेषणमा शाक्य सेनाहरूको सम्झनामा १७ वटा निर्माण गरिएका ठुलो वर्गाकार स्तूपहरू र धेरै सङ्ख्यामा साना स्तूप भेटिएका थिए । 

स्तूपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल, रुबी जस्ता सामग्री प्राप्त भएका थिए । जगदीशपुर तालको काखैमा रहेको सगरहवा ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । 

कुँदिए १७ मूर्ति

शाक्यहरूको नरसंहार गरिएको घटनाका पात्रहरूसँग सम्बन्धित १७ वटा मूर्ति सगरहवामा तयार गरिएको छ । पुस २३ देखि माघ ८ सम्म १५ दिन लगाएर यी मूर्ति निर्माण गरिएको हो । १५ जना मूर्तिकारले थप १५ जना सहयोगीका साथमा ती मूर्ति तयार गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिनुभयो । 

मूर्ति कार्यशाला निर्देशक समितिका संयोजकसमेत रहेका कोषाध्यक्ष भट्टराईले सगरहवाको पुरातात्त्विक स्थलको ऐतिहासिकता उजागर गर्न र पर्यटन प्रवर्धनका लागि जनतासँग मिलेर पहिलो पटक नयाँ मोडेलमा काम गरिएको उल्लेख गर्नुभयो ।

ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कपिलवस्तुमा सञ्चालित मूर्ति कार्यशाला प्राज्ञिक, सांस्कृतिक, प्राविधिक र ऐतिहासिक काम भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सर्जकहरूले निकै मेहनतका साथ सगरहवाको ऐतिहासिक कथालाई मूर्तिमा उतार्ने काम गर्नुभएको छ । यस्ता कला र प्राज्ञिक कामका लागि प्रदेश र स्थानीय तहमा पनि प्रज्ञा–प्रतिष्ठान स्थापना गर्न आवश्यक छ ।”

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले मूर्ति कार्यशाला गरेर कोषले राम्रो कामको सुरुवात गरेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “बुद्धिस्ट साइटहरूको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने अवश्यकता हो ।”

कार्यशाला सम्पन्न गर्न विभिन्न सङ्घसंस्थाको सहयोग रहेको थियो । मूर्ति कार्यशालाले स्थानीय जनतालाई समेत उत्साहित बनाएको सहगोगी संस्था लुम्बिनी पर्यटन पत्रकार सङ्घका महासचिव कपिल ज्ञवालीले बताउनुभयो ।

कार्यशालामा मूर्तिकारहरूको खर्च लुम्बिनी विकास कोषका तर्फबाट ललितकला प्रज्ञा–प्रतिष्ठानमार्फत भुक्तानीका लागि २६ लाख २५ हजारको चेक प्रदान गरिएको थियो । प्राचीन कपिलवस्तु राज्यको पतनको मुख्य कारण मानिएको सगहरवामा  शाक्यहरूको सामूहिक नरंसहारको घटनालाई प्रस्तरमा उतार्न कार्यशाला आयोजना गरिएको थियो ।