• १३ साउन २०८१, आइतबार

सिद्धबाबामा सुरुङ खन्न सुरु

blog

तानसेन समाचारदाता

तानसेन, माघ १० गते  ।  सिद्धबाबा सुरुङमार्गको मुख्य काम सुरुङ खन्न सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामको थालनी भएको हो । 

सुरुङ खन्ने काम दक्षिणतर्फको गेटबाट सुरु भएको हो । सुरुङ निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणपछि दक्षिणतर्फको ढोकाबाट सुरुङ खन्ने कामले गति लिएको आयोजना पक्षले जनाएको छ ।

माटो परीक्षण, साइट कार्यालय स्थापना, विद्युत् विस्तार, वैकल्पिक बाटो निर्माणसहितका पूर्वाधार बनेपछि मुख्य काम सुरुङ खन्न सुरु गरिएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जनाएको छ ।

पाँच वर्षभित्र सुरुङ निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग २०७८ फागुन २५ गते सम्झौता भएको थियो । कम्पनीले डेढ वर्षअघिदेखि काम सुरु गरेको थियो । सुरुङ मार्गको मुख्य काम सुरु भएपछि निर्माणले गति लिने सिद्धबाबा सुरुङमार्ग आयोजनाको कार्यालय बुटवलले जनाएको छ । 

कम्पनीले बाहिर गर्नुपर्ने सबै तयारी सकेर मुख्य काम सुरुङ खन्नेतर्फ लागेको आयोजना प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो । सुरुङमार्गको हालसम्म १०.२ प्रतिशत काम सम्पन्न भइसकेको र सोही अनुसार निर्माण कम्पनीलाई भुक्तानी गरिएको प्रमुख जैसवालले जानकारी दिनुभयो । 

सुरुङ निर्माणको कामसँगै चट्टान बग्नबाट जोगाउन ‘रकसेड’ निर्माणको कामसमेत सुरु भएको छ । सिद्धार्थ राजमार्ग माथिबाट खस्ने पहिरो र कडा चट्टानलाई रोक्न ७८० मिटर ‘रकसेड’ निर्माण गरिने योजनाको कार्यालयले जनाएको छ । यस्तै तीन स्थानबाट बाइपास सुरुङ निर्माण सुरु भइरहेको छ । सुरुङ क्षेत्रमा प्रवेश गर्ने तीन वटा ४३१ मिटरका बाइपास सुरुङ खन्ने काम भइरहेको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो ।

तल्लो गेटबाट सुरुङ निर्माणको काम भइरहेको छ भने माथिल्लो भागमा अन्य संरचना निर्माणको काम भइरहेको ज्ञवालीले बताउनुभयो । ‘रकसेड’ निर्माण गर्ने क्षेत्रमा ३० वटा रुख काट्नसमेत सम्बन्धित निकायबाट सहमति आइसकेको छ । 

रुख काटेपछि ‘रकसेड’ निर्माणले गति लिने उहाँले बताउनुभयो । सुरुङमार्गसँगै कम्पनीले ९०४ मिटर बुटवलतर्फ र पाल्पातर्फको एक हजार ४९४ मिटर सडक स्तरोन्नति गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सुरुङमार्ग आयोजना सम्पन्न गर्न सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरो छिचोल्दै यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । लामो समयदेखि यात्रुले यो क्षेत्रमा खस्ने पहिरोबाट जोगिन सुरुङमार्ग बनाउनुपर्ने माग गर्दै आएका थिए । 

सुरुङमार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ । सुरुङमार्गले रुपन्देही, लुम्बिनी, पाल्पा, पोखरा, गुल्मी, अर्घाखाँची जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीयवासीको विश्वास छ ।