• १३ साउन २०८१, आइतबार

सडक निर्माणले गति नलिँदा सास्ती

blog

मीना कँडेल 

कावासोती, माघ १० गते । नवलपुरको विनयीत्रिवेणी गाउँपालिकाका दुई वडाका बासिन्दालाई आफ्नै पालिका पुग्न लुम्बिनी प्रदेशको बाटो हुँदै जानुपर्ने बाध्यता छ । त्रिवेणी क्षेत्रका दुई वटा वडाका बासिन्दाले सहज बाटो नहुँदा धेरै सास्ती खेप्नु परेको छ । गण्डकी प्रदेशको गौरवको आयोजना रहेको त्रिवेणी–कोरला मार्गको दुम्कीबास–त्रिवेणी सडकखण्ड निर्माण हुन सकेको छैन । 

विनयीत्रिवेणी गाउँपालिका ६ र ७ का बासिन्दालाई दुम्कीबासस्थित गाउँपालिका पुग्न पश्चिम नवलपरासीको सुस्ता, प्रतापपुर गाउँपालिका हुँदै बर्दघाट नगरपालिका भएर जानुपर्ने बाध्यता अझै पनि हट्न सकेको छैन । 

“त्रिवेणी–दुम्कीबास बाटो खोल्छौँ भनेको धेरै समय बिते पनि अझै समस्या उस्तै रहेको स्थानीय गुनबहादुर सोमैको गुनासो छ । वर्षाको समयमा धेरै गाह्रो हुने गर्छ,” गुनबहादुर सोमैले भन्नुभयो । उहाँले भन्नुभयो, “गाउँमा भएका वृद्धवृद्धालाई बोकेर गाउँपालिका पु¥याउनु पर्छ, जङ्गलको बाटो कच्ची छ । पानी पर्नासाथ हिलो हुन्छ, आफ्नै शरीर धान्न मुस्किल पर्छ, अझ भारी बोकेर हिँड्नुपर्दा धेरै समस्या भएको छ ।” 

साबिक त्रिवेणी सुस्ता गाविसलाई टुक्रय्राएर केही भाग लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिका र केही भाग गण्डकी प्रदेशको विनयीत्रिवेणी गाउँपालिकामा राखिएको छ । स्थानीय सुरज कोहारले अहिले सुगमका जनता दुर्गमको जस्तै समस्या भोग्न बाध्य भएको बताउनुहुन्छ ।  हुलाकी सडकखण्डको नामले चिनिने त्रिवेणी बगुवन सडक २०६२ सालमा मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिको समर्थनमा स्थानीयले ट्र्याक खोलेका थिए । २०६२ सालमा ट्र्याक खोलिएको त्रिवेणी बगुवन खण्डमा काम हुन नसक्दा प्रदेश सरकारको गौरवको आयोजना नै अलमलमा परेको छ । प्रदेश सरकार गठन भएपछि चार जना मुख्यमन्त्री फेरिए पनि काम भने जहाँको त्यहीँ छ ।

 नवलपुरको दुम्कीबासदेखि बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दुरी पर्छ । बगुवनसम्म अहिले पनि यातायात सञ्चालन हुने गर्दछ । बगुवनदेखि त्रिवेणीसम्म १६ किलोमिटर पर्दछ । यसमा करिब सात किलोमिटर क्षेत्रमा निकुञ्जले वन्यजन्तुको चरिचरन क्षेत्र बताउने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने वडा नम्बर ६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष घनश्याम गिरीले त्रिवेणी–दुम्कीबास सडक खोल्ने विषय गाउँपालिकाले पटक पटक उठाएको बताउनुभयो । यो सडक समग्र विनयीत्रिवेणीको र गण्डकी प्रदेशको आर्थिकसँग जोडिएकाले सडक खोल्नुको विकल्प नभएको अध्यक्ष गिरीले बताउनुभयो । यो सडक सञ्चालनमा आएमा प्रदेशको मुख्य सडक सञ्जाल भारत र चीनसँग सोझो सम्पर्कमा जोडिने छ भने त्रिवेणीका बासिन्दालाई लुम्बिनी प्रदेशको भूगोल हुँदै आफ्नो गाउँपालिकाको केन्द्र धाउनुपर्ने बाध्यता हट्ने थियो । 

प्रदेश सरकारले पनि भारतदेखि चीनको सिमाना जोड्ने त्रिवेणी–कोराला सडक निर्माण गर्ने लक्ष्य लिएको छ । गत शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थलगत निरीक्षण गर्नुभएको थियो । प्रदेश सरकारले कोरला–त्रिवेणी जोड्ने लक्ष्य राखेकाले दक्षिणतर्फको भारतसँग जोडिएको त्रिवेणी नाकालाई खोल्न लागिपरेको मुख्यमन्त्री पाण्डेले बताउनुभएको थियो । सोही सन्दर्भमा उहाँले गण्डकी प्रदेश सरकारको प्रमुख दायित्व र प्राथमिकतामा यो बाटो खोल्ने र गजेन्द्रमोक्ष धामदेखि मुक्तिनाथसम्मको यात्रा सरल र सहज बनाउने रहेकाले मुख्यमन्त्री पाण्डेले यसका लागि पूर्ण शक्ति लगाउने बताउनुभयो ।