अविनाश चौधरी
धनगढी, माघ ९ गते। सुदूरपश्चिम प्रदेश सभा सदस्यले सदनमा उठेको विषयप्रति गम्भीर बन्न प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ।
समसामयिक विषयमा आज प्रदेश सभामा बोल्दै उहाँहरुले सदनमा जन सरोकारका विषय, प्रदेशमा व्याप्त समस्या लगायतका विषयमा कुरा उठ्ने गरे पनि प्रदेश सरकारको जवाफ नआउने गरेको उल्लेख गर्नुभयो। विविध समस्या, जनसरोकारको विषयप्रति प्रदेश सरकार जवाफदेही हुनु पर्ने उहाँहरुको भनाइ थियो।
सार्वजनिक लेखा समितिका सभापतिसमेत रहनू भएका वीरबहादुर थापाले बजेट कार्यान्वयनको बेला डल्लो बजेट यताउति भइरहेको भन्दै त्यसबारे सरकारको जवाफ माग गर्नुभयो। यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा वन्यजन्तुबाट जनधनको ठुलो क्षति भइरहेकाले सो समस्या समाधान गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो।
प्रदेश सभा सदस्य जानकी ऐर बमले बजेट कार्यान्वयनको अवस्थाबारे सरकारले सदनमा जानकारी गराउनु पर्नेमा जोड दिनुभएको छ।
यस्तै, मानबहादुर रावलले भूकम्पबाट क्षति भएका विद्यालयको मर्मत र लम्पी स्किन रोगबाट पशु गुमाएका किसानलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। बर्खा आउनु अगावै भूक्षय समस्या समाधान गर्नका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
यसैगरी, ललिता सुनारले टीकापुर अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गर्न माग गर्नुभएको छ। उहाँले वादी समुदायको महिलालाई रोजगारी र दलित तथा वादीको बालबालिकालाई छात्रवृत्तिको व्यवस्था गर्न माग गर्नुभयो।
प्रदेश सभा सदस्य मेघराज खड्काले अछामको बयलपाटा अस्पताल बन्द हुने अवस्थामा पुगेकाले अनुदानको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो। यस्तै, हीरा सार्कीले सुकुम्बासी, आरक्ष पीडित, अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गर्नु भएको छ।
यसैगरी, सन्तोषकुमारी शर्मा थापाले प्रतिपक्षको सुझावलाई प्रदेश सरकारले नसुनेको उल्लेख गर्नुहुँदै सत्तापक्षका प्रदेश सभा सदस्यले सरकारलाई रचनात्मक सल्लाह, सुझाव दिनु पर्नेमा जोड दिनुभयो।