म्याङलुङ (तेह्रथुम), माघ ९ गते । सहरी विकासमन्त्री सीता गुरुङले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । आज तेह्रथुम जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका साथै विभिन्न कार्यालयका प्रमुखसँगका बैठकमा मन्त्री गुरुङले कार्यालयहरूले प्रवाह गर्ने सेवा छिटोछरितो र सहज बनाउन निर्देशन दिनुभयो ।
मन्त्री गुरुङले जिल्लाका राजनीतिक दलका प्रमुखसँग जिल्लाको समग्र विकासबारे छलफल गर्नुभयो । सहरी विकास मन्त्रालयमार्फत निर्माण हुन लागेको आठराई गाउँपालिकाको शीत भण्डार, महिला सामुदायिक भवन, म्याङलुङको मिनी मार्केट, आठराई गाउँपालिका-९ को वडा कार्यालयको प्रशासनिक भवन शिलान्यास गर्नुभयो ।
सो अवसरमा उहाँले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नुभयो । मन्त्री गुरुङले आजै लालीगुराँस नगरपालिकामा भइरहेको उँधौली उभौली मेलाको पनि उद्घाटन गर्नुभयो । मन्त्री गुरुङलाई लालीगुराँस नगरपालिकाको वसन्तपुरमा स्थानीयले सांस्कृतिक च्याब्रुङ नाच (केलाङ),झाक्री नाच (येवा लाङ), नौमती बाजासहित स्वागत गरेका छन् । लालीगुराँस नगरपालिकाको वसन्तपुरमा निर्माण हुन लागेको मिनिमार्केट र प्रशासनिक भवन शिलान्यास गर्ने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव हेमन्त गुरुङले जानकारी दिनुभयो । रासस