• १३ साउन २०८१, आइतबार

पत्रकार महतोमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

blog

पत्रकार राजकरण महतो ।

महेशकुमार दास 

जलेश्वर, माघ ९ गते । महोत्तरीका पत्रकार राजकरण महतोलाई संघीय राजधानी काठमाडौंमा दुर्व्यवहार भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–१३ विजलपुरा घर भई हाल काठमाडौँस्थित अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार महतोमाथि दुर्व्यवहार भएको तीन दिन बितिसक्दा पनि दोषीलाई कारबाही हुन नसकेकोमा सञ्चार सम्बद्ध विभिन्न संघसंगठनले आपत्ति जनाएका छन् । 

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका महासचिव रोशन पुरीले साम्प्रदायिक विभेदपूर्ण गाली गलौच गर्ने बसका सह–चालक र चालकलाई अविलम्ब कारबाहीको माग गर्नुभएको छ । 

नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको सचिव समेत रहनुभएका पत्रकार महतोलाई आइतबार सडक किनारमा हिँडिरहेको समयमा सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) बा २ ख ४५३४ नम्बरको गाडीका कन्डक्टर र चालकले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुर्व्यवहार गर्नुका साथै कुटपिटको प्रयास समेत गरेपछि महासङ्घ केन्द्रीय समितिका महासचिव पुरीले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै दोषीलाई पक्राउ गरी  आवश्यक कारबाही गर्नुपर्ने माग गर्नुभएको हो । 

“महासङ्घ हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्न सरकारसँग माग गर्दछ । साथै, महासङ्घ घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ,” महासचिव पुरीले प्रकाशित गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पत्रकार महतोले दोषीलाई अविलम्ब पक्राउ गरेर कानुनी दायरमा ल्याई न्याय दिलाउन सरोकारवाला निकायसँग अनुरोध गर्नुभएको छ । पत्रकार महतोले मधेसी आयोगमा पनि उजुरी दायर गर्नुभएको छ । यसैबिच सङ्घीय राजधानी काठमाडौँमा भएको दुर्व्यवहार भेदभावजन्य घटनाविरुद्ध महोत्तरीको बर्दिबासमा विरोध प्रदर्शन समेत गरिएको छ । घटनाको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन पत्रकार, साहित्यकार, कलाकारसहित स्थानीय युवाले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । 

बर्दिबासस्थित सिन्धुली रोडमा साम्प्रदायिक सद्भाव बिथोल्न खोज्नेलाई कानुनी कारबाही गर, पत्रकार राजकरण महतोमाथि भेदभावजन्य दुर्व्यवहार गर्नेलाई पक्राउ गर, रङ्ग र पहिरनको आधारमा गरिने विभेद अन्त्य गर, बहुजातीय पहिचानको रक्षा गर सहितका नारा उल्लेखित प्लेकार्ड बोकेर साङ्केतिक विरोध गरिएको थियो । 

घटना सम्बन्धमा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा, मधेसी पत्रकार समाज, जिल्लास्थित नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, बर्दिबास नगर पत्रकार सञ्जाल, तराई मधेस सांस्कृतिक अनुसन्धान प्रतिष्ठान बर्दिबास, गौशाला नगर पत्रकार सञ्जालसहितका पत्रकारसंम्वद संघसंस्थाले छुटाछुटै प्रेस विज्ञप्ति निकालेर घटनाको भर्त्सना गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।