• ११ मंसिर २०८१, मङ्गलबार

प्रस्तर कलामा बौद्धकालीन सगरहवाको इतिहास

blog

कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्विकस्थल सगरहवा । फाइल तस्बिर

लुम्बिनी, माघ ९ गते । कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्त्विकस्थल सगरहवामा पुस २३ गतेदेखि सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सम्पन्न भएको छ । राष्ट्रियस्तरमा ख्याति प्राप्त १५ मूर्तिकार र १५ सहयोगी मूर्तिकारले सगरहवासँग सम्बन्धित विषयमा १८ वटा मूर्ति तयार पारेका छन् । 

सगरहवामै आवासीयरुपमा रहेर कलाकारले ढुङ्गामा मूर्ति कुँदेर सगरहवाको ऐतिहासिक गतिविधिलाई प्रस्तरमा उतारेका हुन् । कार्यशाला समापनमा राष्ट्रियसभा सदस्य विमला घिमिरेले कपिलवस्तु खुल्ला सङ्ग्रहालयका रूपमा रहेपनि यहाँको बुद्धकालीन स्थलहरूबारे प्रचारप्रसार र विकास हुन नसकेको बताउनुभयो । लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री विष्णु पन्थीले यस कार्यशालामार्फत सगरहवा पर्यटनका लागि केन्द्रबिन्दु हुने बताउनुभयो । उहाँले यस कार्यले सगरहवाको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बुझाउन र जगदीशपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा कासेढुङ्गा साबित हुने बताउनुभयो । 

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कपिलवस्तुमा सञ्चालित मूर्ति कार्यशाला प्राज्ञिक, सांस्कृतिक प्राविधिक र ऐतिहासिक काम भएको बताउनुभयो । उहाँले सर्जकहरूले निकै मेहनतका साथ सगरहवाको ऐतिहासिक अवस्था र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गर्नुभएको छ भन्नुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगरहवाको पुरातात्त्विक महत्त्व  तथा ऐतिहासिक कुरा उजागर गर्न र यहाँको पर्यटन प्रवर्द्धन गर्न  जनतासँग मिलेर पहिलो पटक नयाँ ढाँचामा काम गरिएको बताउनुभयो ।

उहाँले मूर्ति कार्यशालाबाट तयार भएका मूर्तिहरूलाई दिगो संरक्षण र व्यवस्थापनका लागि स्थानीय समुदायबिच एकता र सहकार्य आवश्यक छ भन्नुभयो । कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले कार्यशाला गरेर कोषले यहाँको विकास सुरुआत गरेको बताउनुभयो । उहाँले अब कपिलवस्तुका बुद्धसम्बन्धी विभिन्न स्थलको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । कार्यशालामा मूर्तिकारहरूको खर्च लुम्बिनी विकास कोषमार्फत नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट भुक्तानीका लागि २६ लाख २५ हजारको चेक कार्यक्रममै प्रदान गरिएको थियो । 

प्राचीन कपिलवस्तु राज्यको पतनको मुख्य कारण मानिएको सगहरवामा शाक्यहरूको सामूहिक नरसंहारको घटनालाई प्रस्तरमा उतार्न कार्यशाला गरिएको थियो । उक्त कोषको नेतृत्व तथा कपिलवस्तु नगरपालिका, ललित कला प्रतिष्ठान, लुम्बिनी प्रदेशस्थित पर्यटन डिभिजन कार्यालयसहित स्थानीय सङ्घसंस्थाहरूको आयोजनामा प्रारम्भ गरिएको कार्यशाला १५ दिनसम्म चलेको थियो । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट नौ किलोमिटर र तिलौराकोटबाट छ किलोमिटर उत्तरमा छ भने पूर्वपश्चिम राजमार्गको वनगाईबाट सात किलोमिटर दूरीमा सगरहवा रहेको छ । 

सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूको नरसंहार गरिएपछि उनीहरूको सम्झनामा सयौँ स्तूप निर्माण गरिएको चिनियाँ यात्री हुयन् साङ्लो सन् ६३६ को यात्रा वृत्तान्तमा उल्लेख छ । सन् १८९७ मा डा.फुरर्हरद्वारा गरिएको उत्खनन तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा निर्माण गरिएका १७ वटा ठुलो वर्गाकार स्तूप र धेरै सङ्ख्यामा साना स्तूप भेटिएको थियो । स्तूपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबीजस्ता सामग्री प्राप्त भएका थिए । जगदीशपुर तालको काखैमा रहेको लम्बु सागरका रूपमा परिचित सगरहवा ५८ बिघा क्षेत्रफलमा फैलिएको छ । रासस