• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेट : आर्मी र कर्णाली विजयी

blog

मुलपानीमा प्रतिस्पर्धा गदै कोशी र कर्णालीका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ ९ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मङ्गलबार जित निकालेका छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा आर्मीले एपिएफ क्लबलाई चार विकेटले हरायो । मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । 

जितका लागि एपिएफले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३४ रन बनाउनुभयो । बसिर अहमदले १८, कुशल मल्लले १९, इम्रान शेखले १६ र सन्तोष कार्कीले ११ रन जोड्नुभयो । बलिङमा एपिएफका रमेश कुर्मीले दुई तथा श्याम ढकाल र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले ३२.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २१ रन बनाएको थियो । एपिएफका लागि राहितकुमार पौडेलले सर्वाधिक ५९ रन बनाउनुभयो । भुवन कार्कीले १६ र सुमित महर्जनले १४ रन जोड्नुभयो । बलिङमा आर्मीका लागि सोमपाल कामीले तीन विकेट लिनुभयो ।

अविनाश बोहराले दुई तथा विवेक यादव,साहब आलम र बसिर अहमदले एक एक विकेट लिनुभयो । तेस्रो जितसँगै आर्मीले पाँच खेलमा ६ अङ्क बनाएको छ ।  एपपिएफको सामन खेलबाट चार अङ्क छ । यस्तै मूलपानीमा जितका लागि कोशीले प्रस्तुत गरेको एक सय ५२ रनको लक्ष्य कर्णालीले २८.३ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । 

कर्णालीका लागि अर्जुन घर्तीले अविजित ५० रन बनाउनुभयो । विपिन शाहीले २८, हिमांशु शाहीले अविजित २४, निश्चल रावलले २१ र कप्तान रवीन्द्र शाहीले १२ रन बनाउनुभयो । बलि।मा कोशीका हेमन्त राईले तीन तथा कमल खत्रीले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले ३४.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५१ रन बनाएको थियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ७३ रन बनाउनुभयो । सौजन घिमिरेले १२ र आइश भट्टराईले ११ रन जोड्नुभयो । 

बलिङमा कर्णालीका दिनेश अधिकारीले चार विकेट लिनुभयो । प्रकाश जैसीले तीन र युनिश सिंहले दुई विकेट लिनुभयो । जितसँगै कर्णालीले ६ खेलबाट ६ अङ्क बनाएको छ । सातै खेलमा पराजित कोशी अङ्कविहीन  छ ।