• १३ साउन २०८१, आइतबार

वायुसेवा निगम र विमानस्थल सुधारसम्बन्धी प्रतिवेदन तत्काल बुझाउनू : संसदीय समिति

blog

सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक । फाइल तस्बिर

काठमाडौं, माघ ९ गते । संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्म भएको अध्ययन प्रतिवेदनहरू यथाशीघ्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकले सो निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्म भएको अध्ययन, अनुसन्धानसम्बन्धी सम्पूर्ण प्रतिवेदन पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकमा समितिले सो सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराती र निगमका पदाधिकारीसँग छलफल गरेको थियो । समितिको बैठकमा भएको छलफलको आधारमा निगम र विमानस्थलहरूको सुधारसम्बन्धी हालसम्मको अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो समितिमा पेस गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति राजकिशोर यादवले बताउनुभयो ।

यसैगरी, समितिले प्रधानमन्त्री कार्यालयको विधेयक शाखामा अड्केर बसेको नागरिक उड्डयनसम्बन्धी विधेयकबारे गम्भीर चासो व्यक्त गर्दै त्यसको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन सरकारलाई सचेत गराएको छ ।

‘‘नेपाल वायुसेवा निगम तथा विमानस्थलहरूको सुधार तथा समग्र विषयमा के–कस्ता अध्ययन, अनुसन्धानहरू भएका छन्, तिनको प्रतिवेदनहरू समिति समक्ष यथाशीघ्र पेस गर्न मन्त्रालय र नेपाल नेपाल वायुसेवा निगमलाई निर्देशन दिने । योभन्दा अगाडिको बैठकमा माननीय मन्त्रीज्यूले नै नागरिक उड्डयनसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पठाइसकिएको जानकारी गराएको स्थिति छ ।,’’ सभापति यादवले भन्नुभयो,  ‘‘हाम्रो सचिवालयले प्रधानमन्त्री कार्यालयको विधेयक हेर्ने शाखामा त्यो विधेयकबारे चासो राख्दा स्पष्ट जवाफ आएको छैन । त्यसैले मन्त्रालयले त्यो विधेयकको स्थितिको बारेमा के हो ? मन्त्रालय कुन दिनमा निर्णय गरेर त्यहाँ पठाएको हो, त्यो डेट सहित यो समितिमा उपलब्ध हुनुपर्‍यो । यदि हामीले यहाँ प्रधानमन्त्रीलाई नै तालुकदार मन्त्रालयले त्यहाँ पठाइसकेको हो भने के कारणले त्यसका पछाडि कुन त्यस्तो शक्तिले काम गरिरहेको छ कि त्यो विधेयक जहाँ जानुपर्ने हो, त्यहाँ गइरहेको छैन । मन्त्रीले त्यो विधेयकको स्ट्याटस के हो, त्यो चाहिँ समितिलाई जानकारी चाहिएको छ ।’’

बैठकमा समितिका सदस्यहरूले नेपाल वायुसेवा निगमको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै यसको सुधारका लागि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना गरेका थिए ।