• १३ साउन २०८१, आइतबार

स्पोर्ट्स अवार्डलाई लालपुर्जाको सहप्रायोजन

blog

सहप्रायोजन सम्बन्धी सम्झौता पत्र आदान प्रदान गरिँदै ।

काठमाडौँ, माघ ९ गते । २०औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डलाई लालपुर्जा नेपालले सहप्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा माघ २८ गते हुने अवार्डका लागि रियल स्टेट व्यवसायमा क्रियाशील कम्पनी लालपुर्जा नेपालले सहप्रायोजन गर्न लागेको हो । 

सहप्रायोजन सम्बन्धी सम्झौता पत्रमा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र लालपुर्जा नेपालका प्रबन्ध निर्देशक सञ्जय नेपालले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि अध्यक्ष सुवेदीले स्पोर्ट्स अवार्डको दायरालाई अझै फराकिलो पार्नका लागि रियल स्टेट व्यवसायमा सक्रिय संस्थालाई आबद्ध गरिएको बताउनुभयो ।

लालपुर्जाका प्रबन्ध निर्देशक नेपालले देशको सान र मानसँग जोडिएको खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा सहकार्य गर्न पाउनु कम्पनीका लागि खुसीको विषय भएको बताउनुभयो । विभिन्न नौ विधामा प्रदान गरिने स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।

पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा पर्नुभएको छ । उहाँहरूको भोटिङ प्रक्रिया समेत सुरु भइसकेको छ । 

यसपटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले जनही बजाज पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपियाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।