• १६ भदौ २०८१, आइतबार

मुहान सुकेपछि सुक्खाग्रस्त क्षेत्र घोषणा

blog

कलकल बग्ने शिवनाथको मटेला खोला अहिले सुक्खा बनेपछि । तस्बिर: गोकर्ण

गोकर्ण दयाल

बैतडी, माघ ९ गते । पानीका मुहान सुकेपछि बैतडीको शिवनाथ गाउँपालिका सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको छ । असी लाख रुपियाँ खर्च गरेर निर्माण भइरहेको खानेपानीको मुहान सुकेपछि शिवनाथ गाउँपालिका काकाकुल बनेको छ । 

स्थानीय सिमार लिफ्ट खानेपानी योजना निर्माण पूरा नहुँदै मुहानको पानी सुकेपछि आइतबार १२औँ गाउँ सभाबाट शिवनाथ गाउँपालिकालाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको हो ।      

पानी नहुँदा शिवनाथ गाउँपालिकाको सार्वजनिक शौचालय बन्द भएको छ । गाउँपालिका केन्द्रमा रहेको सुल्ले खान बजारका शौचालयमा ताला लगाइएको छ भने खाने पानीका धारा धुलो माटोले पुरिएका छन् । 

सडक निर्माण र लामो खडेरीका कारण शिवनाथमा पानीका मुहानमा सुक्दै गएको सरोकारवालाको भनाइ छ । पानीका मुहान रिचार्ज गर्ने प्रयास गरिए पनि खडेरीका कारण सफल हुन नसकेपछि गाउँपालिकालाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।   

एक घर एक धारा निर्माण गर्न गाउँपालिकाले करोडौँ रुपियाँ खर्च गरे पनि धारामा पानी नआएको स्थानीय महामलसिंह साउदले बताउनुभयो । स्थानीय शिक्षकसमेत रहनु भएका महामलसिंह साउदले विद्यालयमा धारा छ, पानी कहिले आउँछ ? भन्दै जनप्रतिनिधिसँग प्रश्न गर्नु भयो । 

गाउँपालिका अध्यक्षले पालिकामा भएका मुहान सुकेकाले अब महाकालीको पानी तान्न विस्तृत अध्ययन प्रतिवेदन भइरहेको जानकारी दिनुभयो । “पानी तान्न कराेडौं रुपियाँ खर्च लाग्ने देखिएको छ,” अध्यक्ष साउदले भन्नुभयो,“ अध्ययन प्रतिवेदन तयार गरी फागुन भित्रै प्रदेश र सङ्घीय सरकारलाई बुझाउने तयारी गरिरहेका छौँ ।”   

पचास प्रतिशत पानीका मुहान सुके   

स्थलगत तथ्याङ्क हेर्दा प्राकृतिक मुहानका रूपमा रहेका स्थानीय न्वालो (कुवा) को पानी बर्सेनि सुक्दै गएको पाइएको छ । शिवनाथ गाउँपालिका–१, मिटभिटा दुवला मुहानबाट ३२ मिलिमिटर मोटो पाइपमा आउने पानी अहिले खर्ल्याप्प सुकेको छ । मुहानमाथि  सडक निर्माण हुँदा पानी सुकेको स्थानीय महामलसिंह साउदले बताउनुभयो । मुहान सुकेपछि अहिले दुबला गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ । 

खाने पानीको समस्या समाधान गर्न गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा आठ लाख रुपियाँ र गत वर्ष दुई लाख रुपियाँ बजेट दिए पनि पानीको मुहान नभेटिँदा स्थानीयवासी कागजी योजना बोकेर जनप्रतिनिधि गुहार्दै हिँडेको उहाँले पीडा सुनाउनुभयो ।  

शिवनाथमा मात्रै नभई जिल्ला भरि पानीका मुहान सुक्ने क्रम बढेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख गोविन्दप्रसाद देवकोटाले बताउनुभयो । बैतडीका १० वटा स्थानीय तह र ८४ वटा वडामा रहेका आठ हजार न्वालो मध्ये स्थलगत निरीक्षण गर्दा आधा जति सुकिसकेको पाएको उहाँले जानकारी दिनुभयो । 

डाँडामा रहेका प्राकृतिक पानीका श्रोत सुक्दै गएपछि विकल्पमा अहिले खोलाबाट पानी तान्ने योजना निर्माण भई रहेका छन् । गत वर्ष बैतडीमा १७ वटा लिफ्ट खानेपानी योजना बनेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा पनि चार वटा लिफ्ट खानेपानी योजना निर्माण भइरहेको कार्यालय प्रमुख गोविन्दप्रसाद देवकोटाले बताउनुभयो । 

महाकालीको पानी तान्ने योजना 

बलौटे माटोको भू–बनोट रहेको शिवनाथ गाउँपालिकाका विभिन्न डाँडाको खोचमा रहेका पानीका मुहान सुकेपछि गाउँपालिकाले महाकाली नदीबाट पानी तान्ने योजना अधि बढाएको छ । 

शिवनाथ गाउँपालिकामा अक्सफाम नेपालले महाकाली नदीको पानीको सदुपयोग परियोजना (ट्रोसा) कार्यक्रम सञ्चालन गरिरहेको छ । महाकालीको पानीको सदुपयोग बारे छलफल गर्दा समुदाय स्तरबाट महाकालीको पानी तान्नु पर्ने आवाज उठेको परियोजना सञ्चालन गर्दै आइरहेको सामाजिक संस्था रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो । 

स्थानीय सरकारले गाउँ गाउँमा सडक पूर्वाधार तयार गरे पनि पानी नहुँदा  बसाइँ सर्ने क्रम बढ्न थालेकाले स्थानीय सरकारसँग सहकार्य गरी दिगो विकास र जीविकोपार्जनमा सहयोग गर्ने परियोजनाका जोशीले बताउनुभयो ।