• ८ असार २०८१, शनिबार

विद्यार्थीको बैक खाता अनिवार्य

blog

सिद्धार्थ माविमा कक्षा ९ मा अध्ययनरत सदिच्छा सुबेदी खाता खोल्दै । तस्बिर: गोरखापत्र

अर्जुन काफ्ले

स्याङ्जा, माघ ९ गते । शैक्षिक गुणस्तर वृद्धिको अग्रसर फेदीखोलाँ गाउँपालिकाले हरेक विद्यार्थीको बचत खाता सञ्चालन अभियान अगाडि बढाएको छ । गाउँपालिकाले प्राइम कर्मसियल बैङ्कले बिच साझेदारी गरेर बचत खाता सञ्चालन कार्यक्रम कार्यान्वयनका निम्ति सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

पालिकाले ल्यापटप र प्रोजेक्टरबाट पढाई, माविमा एक आइटी शिक्षक व्यवस्था, एक शिक्षक एक ल्यापटप, विद्यालय सिसी क्यामेराबाट अनुगमन, गाउँपालिकाबाट हेर्न मिल्ने गरी शिक्षकको इ हाजिरी यस अघि गरी सकेको छ । 

अभियानको फेदिखोलाँ गाउँपालिकामा रहेको  सिद्धार्थ माविकी कक्षा ९ की छात्रा सदिच्छा सुबेदीको आमा गीता सुबेदी संरक्षक रहने गरी खाता खोली सुरु गरिएको हो भने एक महिना भित्र सबै विद्यार्थीको खाता खोली सकिने छ । 

विद्यार्थीको संरक्षक आमा गीताले पालिकाले शैक्षिक विकासमा धरै लगानी गरेको बताउँदै यो नयाँ अभियानबाट विद्यार्थीको हितमा काम गरेको बताउनुभयो । 

फेदी खोलाको कामको प्रशंसा गर्नुपर्ने बताउँदै गीताले हरेक पालिकाले शिक्षाको क्षेत्रमा यसै पालिकाको काम हरेर काम गर्नु पर्ने बताउनुभयो । 

पालिका अध्यक्ष घनश्याम सुबेदीले स्कुले जीवनदेखि नै बचत गर्ने वानीको विकास र उद्यमशीलता प्रवर्द्धन कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । 

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आर्थिक उपार्जनमा सहभागी गराउन साथै सानो उमेरबाट बचत गर्ने बानी तथा  उद्यमशीलताको विकास गराउने उद्देश्यले गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कार्यक्रमलाई समेटेको थियो । 

बैङ्कले प्रत्येक विद्यालयमा पुगी विद्यार्थीको निःशुल्क खाता खोल्ने छ भने शिशु कक्षा देखि १२  कक्षा सम्मको प्रत्येक विद्यार्थीको खातामा पालिकाले एक सय र बैङ्कले एक सय गरी दुई सय रुपियाँ जम्मा हुनेछ । फेदीखोला गाउँपालिकाको साझेदारीमा विद्यार्थी बचत खाता सञ्चालन कार्यक्रम  कार्यविधि २०८०, अनुसार सेवा लिन सकिने उहाँको भनाई थियो । विद्यार्थीको अभिभावकको राेहबार खाता खोल्ने र बचत गरिने बताउँदै सुबेदीले कम्तीमा एक विद्यार्थीको खातामा एक दिनमा एक रुपियाँ कम्तीमा बचत गरिनु पर्ने बताउनुभयो । 

यस्तै गाउँपालिकाले दिने विभिन्न सुविधा,  विद्यालयको विभिन्न  अक्षयकोष मार्फत विद्यार्थीलाई दिने  छात्रवृत्ति, अन्य संघ संस्थाले दिने आर्थिक सहयोग लगायत विभिन्न स्रोतबाट प्राप्त रकम समेत सो खातामा अनिवार्य जम्मा गर्नुपर्ने छ । 

बैकमा जम्मा गरेको रकम विद्यार्थीले झिक्न पाउने छन् भने अन्य विद्यार्थीको हकमा जटिल समस्या परेमा विद्यालयको सिफारिसमा पालिकाको शिक्षा शाखा मार्फत बैकले उपलब्ध गराउने छ । पालिकामा आठ मावि सहित २१ रहेको र विद्यालयमा दुई हजार ५९ विद्यार्थी अध्ययनरत रहेका छन् ।