• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेट : मधेश, बागमती र पुलिस विजयी

blog

जित निकालेपछि मधेशका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ ८ गते । मधेश, बागमती प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले हरायो । चौथो जितसँगै  मधेशले ६ खेलबाट आठ अङ्क बनाएको छ । पहिलो हार खेपेको सुदूरपश्चिम चार खेलमा तीन अङ्क जोड्दै चौथो स्थानमा छ ।

जितका लागि मधेशले प्रस्तुत गरेको तीन सय २० रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३९ रनमा समेटिएको थियो । यसअघि टस जितेर ब्याटिङ रोजेको मेधश प्रदेशले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा तीन सय १९ रन बनाएको थियो । 

यस्तै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई सात विकेटले हरायो । लगातार चौथो जित निकालेको बागमतीले ६ खेलबाट आठ अङ्क बनाएको छ । कर्णालीको पाँच खेलबाट चार अङ्क पुगेको छ ।

जितका लागि कर्णालीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । बागमतीका लागि ईशान पाण्डेले ४० र रविन जोशीले अविजित १६ रन बनाउनुभयो । कर्णालीका लागि तीनै विकेट दिवान पुनले लिनुभएको थियो । 

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २४.२ ओभरमा सबै विकेटको क्षतिमा ७८ रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बागमतीका लागि रिजन ढकालले पाँच विकेट लिनुभयो । 

यस्तै भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई ५८ रनले हरायो । लगातार चौथो जितसँगै आठ अङ्क बनाएको पुलिस शीर्षस्थानमा छ । समान खेलबाट चार अङ्क बनाएको एपिएफ छैटौँ स्थानमा छ । 

जितका लागि पुलिसले प्रस्तुत गरेको एक सय ४६ रनको लक्ष्य पछ्याएको एपिएफ ३४ ओभरमा ८७ रनमा समेटिएको थियो । एपिएफका लागि सन्दीप जोराले अविजित २५, अमरसिंह रौटेलाले २३ र प्रज्ज्वल शाहीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा पुलिसका ललितनारायण राजवंशीले पाँच विकेट लिनुभयो । राशिद खानले दुई र सागर ढकालले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ४१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो । पुलिसका लागि दिलिप नाथले सर्वाधिक ४४ रन बनाउनुभयो । अर्जुन साउदले ३१, शङ्कर रानाले २२ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाउनुभयो । बलिङमा एपिएफका भुवन कार्कीले तीन विकेट लिनुभयो । अमरसिंह रौटेलाले दुई तथा पूर्ण विक, कप्तान रोहितकुमार पौडेल र श्याम ढकालले एक एक विकेट झार्नुभयो ।