• १३ साउन २०८१, आइतबार

‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ प्रभावकारी

blog

फाइल तस्बिर

रत्ननगर (चितवन), माघ ८ गते । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग ‘मेयर स्वास्थ्य कार्यक्रम’बाट नौ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् । नगरका २९ वडामा सञ्चालित उक्त कार्यक्रमबाट अपाङ्गता भएका, अशक्त तथा ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित भएका जनाइएको छ ।

भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६० प्रतिशत ज्येष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप, दम, मानसिक स्वास्थ्यसम्बन्धी रोग देखिएको छ । अभियानमा चिकित्सक र स्वास्थ्यकर्मी टोलटोलमा पुगेर प्रयोगशालासहित सेवा दिएका थिए । यसका लागि एक सय दुईजना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । 

हालसम्म नौ हजार चार सय १८ जनाको स्वास्थ्य परीक्षण गरिएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो । स्वास्थ्य जाँचबाट बिरामीले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरे पनि काम गरे÷नगरेको बारे पुनः परीक्षण नगरेको पाइएको उहाँले बताउनुभयो । कतिपयमा मधुमेह तथा उच्च रक्तचाप रोग भए पनि जानकारी नभएको पाइएको अधिकृत भट्टले बताउनुभयो । 

स्वास्थ्य जाँचपछि ज्येष्ठ नागरिक, अपाङ्गता तथा अशक्तलाई मधुमेह, उच्च रक्तचापका सुरुवाती चरणमा दिइने औषधि दिएको छ । औषधिसँगै जीवनशैली र खानपानबारे परामर्श पनि दिइएको छ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले खुसी र सुखी भरतपुर निर्माण गर्न समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । भरतपुरवासीलाई प्रत्यक्ष महसुस हुने गरी घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइएको उहाँको भनाइ थियो ।

“जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने उद्देश्यले महानगरका सबै वडामा अभियान चलाएको हो”, उहाँले भन्नुभयो । गत मङ्सिर २० गते भरतपुर वडा नम्बर २४ बाट उक्त अभियान सुरु भएको थियो । स्वास्थ्य जाँचबाट समस्या देखिएका बिरामीको थप उपचारका लागि शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्यचौकीमा व्यवस्था मिलाइएको थियो । अभियान माघ मसान्तसम्म सञ्चालन गरिने महानगर स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिनुभयो । 

अभियानले भरतपुरमा रहेका ज्येष्ठ नागरिक, अपाङ्गता तथा अशक्तको वास्तविक स्वास्थ्य अवस्थाको तथ्याङ्क सङ्कलन गरेकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्ययोजना बनाउँदा धेरै सहयोग पुग्ने उहाँको भनाइ थियो । उक्त कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रूपमा फिजिसियन डा.भोजराज अधिकारीलाई नियुक्त गरेको थियो । रासस